बुटवल,बैसाख २३।
बुटवलमा पाँचदलीय गठबन्धनले भाेलि (बैसाख २४ गते शनिबार) बृहत आमसभा गर्दैछ । बिहान १० बजेदेखि बुटवलको देवीनगर चाैपारी नजिक बाणिज्य क्याम्पस खेल मैदानमा हुने चुनावी आमसभामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरु सम्बोधन गर्ने छन् ।
स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएपछि अहिले कार्यकर्तामा उत्साह छाएको छ । चुनावी एकतासहित र कार्यकर्तालाई अझै बढी उत्साहित बनाउनको लागि सबै दलका नेताहरुले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा सहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज चक्रपाणी खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
बिहान १० बजे आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकता, भातृ तथा शुभेच्छुक संघसंस्था र आम समुदायलाई सहभागिताको लागि अपिल गरिएको र यो कार्यक्रममा एक लाख बढीको सहभागिता हुने अपेक्षा गरिएको सचिव गिरीले बताउनुभयो ।
संविधान र व्यवस्था रक्षाको तथा प्रतिगमनलाई परास्त गर्नको लागि अहिले जसरी पनि गठबन्धन दलका उम्मेदवारले जित्नुपर्ने र त्यसको लागि गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिएको क्षेत्रीय सचिव विमलराज भट्टराईले बताउनुभयो ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूववर्ती सरकारले दुई पटकसम्म संसंसद विघटन गरेर मुलुकमा प्रतिगमन ल्याउने खोजेको भन्दै त्यसका विरुद्ध संविधान र व्यवस्थाको रक्षाको लागि पाँच दलीय गठबन्धन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)