बुटवल,कार्तिक ४-
रुपन्देहीकाे बुटवलमा लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलो आंगिक क्याम्पस स्थापना गर्ने भएको छ । १२ औं विश्वविद्यालय सभाले बुटवलमा पहिलो आंगिक क्याम्पस खोल्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास वालुवाटारमा असोज २६ गते सभा भएको थियो ।
सभाको निर्णयानुसार बुटवलमा यसै शैक्षिक सत्रदेखि सिटी क्याम्पस सञ्चालनमा ल्याइने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । ‘यो पहिलो आंगिक क्याम्पस हुनेछ, मंगलबार बुटवलमा सिनेटका निर्णय सार्वजनिक गर्दै उनले भने,यसलाई विस्तार गर्दै जाने रणनीति रहेको छ ।’
रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले केन्द्रीय क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसबाट मात्र पठनपाठन गराईरहेको थियो ।
बुटवलमा आंगिक क्याम्पस खुलेसंगै विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु विस्तार हुदै जाने देखिएको छ । विश्वविद्यालय अहिलेसम्म लुम्बिनीमा मात्रै खुम्चिएर बसेको थियो । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन, कपिलवस्तुमा पुरातात्विक अनुसन्धान केन्द्र, देवदह र रामग्राममा अन्य शैक्षिक कार्यक्रम चलाउने रणनीति बनाएको छ ।
सिटी क्याम्पसमा मानविकीतर्फका विषयहरु सुरु चरणमा सञ्चालन हुनेछन् । बौद्ध दर्शनका विषय थप्दै लगिने उनले बताए । अहिले बुटवलमा स्नातक तहमा कानून र ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषय चलिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सभाले गायिका आनी छोइङ डोल्मालाई सद्भावना दूत बनाउने निर्णय गरेको छ । सभाले काठमाण्डौंमा बज्रयान अध्ययन केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको छ । विश्वविद्यालयले लुम्बिनी क्षेत्रका चार स्थान, हिमाली क्षेत्र र काठमाण्डौंमा बौद्ध दर्शनका विभिन्न शैक्षिक कार्यक्रम चलाउने दीर्घकालीन रणनीति बनाएको छ ।
सभाले हरेक वर्ष एक जना बौद्ध विद्वानलाई सम्मान गर्ने गरी ५ हजार डलर राशीको लुम्बिनी बौद्ध विश्वविद्यालय अन्र्तराष्ट्रिय प्रज्ञारत्न अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । बौद्ध दर्शनका अध्येताहरुमध्येबाट उच्चस्तरीय छनौट कार्यदलले व्यक्ति छनौट गर्नेछ ।
सभाले विश्वविद्यालयका लागि २ सय ५३ जनाको दरबन्दी स्विकृत गरेको छ । शिक्षणतर्फ १ सय १२ जना र प्रशासनिक कर्मचारीतर्फ १ सय ४१ जनाको दरबन्दी स्विकृत गरेको हो । चालु आर्थिक वर्षका लागि ३० करोड ६० लाखको बजेट पनि स्विकृत गरेको छ ।
बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शन बाहेकमा पनि विद्यावारिधी गर्न सकिने भएको छ । सभाले मानविकी विषयबाट समेत विद्यावारिधि गर्न सकिने निर्णय लिएको हो । यसअघि बौद्ध दर्शनमा मात्रै विद्यावारिधि गर्न सकिने व्यवस्था थियो । डिग्रीको संख्या बृद्धि भएर १२ पुगेको छ । सभाले नियमावली संसोधन, वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।
१५ वर्षअगाडी स्थापना भएको विश्वविद्यालयले पछिल्लो सात वर्षदेखि स्नातकोत्तर र स्थातक तहमा अध्यायपन गर्दै आएको छ । पछिल्लो आधा दशकमा मात्रै विश्वविद्यालय देखिने तहमा पुगेको हो । अहिले विश्वविद्यालयमा ७ सय २ जना विद्यार्थी रहेका छन् ।
मंगलबार बुटवलमा सभाका निर्णय सार्वजनिक गर्दै विश्वविद्यालयका रजिष्ट्रार आचार्यले शैक्षिक कार्यक्रमका लागि भौतिक पूर्वाधार निर्माण जोड दिइएको बताए ।
केही समयभित्रै रुपन्देहीका देवदहमा एक सय विगाहा जमिनमा पूर्वाधार निर्माण गरिने विश्वविद्यालय प्राध्यापक बलबहादुर पाण्डेले बताए ।
स्थानीयले सहमति जनाएपछि बुटवलको नयाँगाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालयलेआंगिक क्याम्पस चलाउने
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)