तिलोत्तमा,बैसाख १९ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफूले आचारसंहिता उल्लंघन गरेको स्विकारेका छन् । उनले नियम सबैलाई बराबर लाग्नुपर्ने भन्दै कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिए ।
आइतबार राति एमालेका मेयर- उपमेयरका उम्मेदवारसहित घिमिरेकै टुलीप हाेटलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू मेयर पदमा बहाल रहे पनि पार्टी (एमाले)का उम्मेदवारलाई जिताउन हिँडेको बताए ।
उनी अहिले एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटिको संयोजक छन् । मेयर पदमा बहाल रहेकै अवस्थामा निर्वाचन परिचालन कमिटीको संयोजक हुनु आफैँमा निर्वाचन आचारसंहिताको उल्लंघन हो । तर, तिलोत्तमामा एमालेबाट मेयरका उम्मेदवार मोहन चापागाईं र उपमेयरकी उम्मेदवार जागेश्वरीदेवी चौधरीको प्रचारमा खटिएका उनले आचारसंहिता उल्लंघन गरेवापत् आफूलाई कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिएका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्न सके गरे हुन्छ,म त दुबैतिर राजनीामा दिन तयार छु ।’
पत्रकार सम्मेलनको अध्यक्षतासमेत गरेका उनले आचारसंहिता उल्लंघन हुनु सामान्य विषय भएको पनि बताए । उनले भने, ‘म पार्टीको कार्यकर्ता हुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु, कसैलाई यसले आचारसंहिता उल्लंघन गर्यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’
उनले अहिले पनि आफू नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन सक्ने बताए । उनले भने, ‘मैले अहिले बजेट खर्च हुने काम नगरौँला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’
उनले पत्रकार सम्मेलनमा आफूले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै पत्रकारहरूप्रति असन्तुष्टि जनाए । ‘तपाईंहरूले विपक्षीहरूको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगरप्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु, मेरा कामका बारेमा लेखिदिनुहोला’, उनले भने ।
यता निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले बहालवाला जनप्रतिनिधि पार्टीको चुनावी प्रचारमा खटिन नहुने बताए । उनले भने, ‘बहालवाला प्रमुखरउपप्रमुख, अध्यक्ष-उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन ।’
निर्वाचन आयोगगले जारी गरेको आचारसंहिताको बुँदा ५ मा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै दल विशेषको चुनावी प्रचारप्रसार गर्न नपाउने उल्लेख छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)