बुटवल,बैसाख १८ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले लोकतन्त्र जोगाउन गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।
शनिबार बुटवल– ४ का पाचँ दलीय गठबन्धनका युवाहरुको भेलालाई सम्बोधन गर्दै डा चापागाईंले बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन युवाहरुको प्रमुख जिम्मेवारी रहने बताए ।
उनले पाचँ दलीय गठबन्धनको पक्षमा जनलहर आएकोले गठबन्धनका साझा उम्मेदवारहरुको जित सुनिश्चित भएको बताए ।त्यस्तैगरी होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं नेकपा एसका लुम्बिनी प्रदेश कमिटी सदस्य हिराध्वज शाहले पाँच दलीय गठबन्धनको पक्षमा जनमत देखा परेकोले प्रतिद्वन्द्वीहरु अत्तालिएको बताए ।
नेपाली कांग्रेसका प्रतिनिधि अर्जुन रानाभाटले मुलुकको भविष्य निर्माणमा युवाहरुको ठूलो भूमिका हुने बताउँदै चुनावमा सक्रिय हुन युवाहरुलाई आग्रह गरे ।
पाँच दलीय गठबन्धनबाट बुटवल उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेदवार नरिश्वर शर्मा पौडेलले स्थानीय जनताको स्नेह र सुझावबाट पार्टीले उच्च मूल्यांकन गरी आफूलाई उम्मेदवार बनाएकोमा आफ्नो पार्टी नेपाली कांग्रेस र गठबन्धन दलका सबै मित्रहरुप्रति आभार तथा धन्यवाद व्यक्त गरे ।
उनले वडावासीको अमूल्य मत गठबन्धनलाई प्राप्त हुनेमा आफू विस्वस्त रहेको बताउँदै बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जनताका घरदैलो र टोलटोलमा पुगी स्थानीय जनताको सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । चुनावी परिणाम पश्चात वडाको समृद्धि र विकासमा समर्पित रुपमा क्रियाशील रहने बताए ।
उक्त कार्यक्रममा बुटवल वडा नं। ४ का समाजसेवी एवं पाँच दलीय गठबन्धनका नेताहरु सर्वजित केसी, जित बहादुर भाट, बबर अली, हरि पहारी, अरुण कुमार श्रेष्ठ, चुन्नप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसलगायतका पाँच दलीय गठबन्धनका युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल बुटवल– ४ का अध्यक्ष अशोक सेनको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन नेकपा एकीकृत समाजवादी बुटवल–४ का युवा नेता दिनेश मल्लले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)