तिलोत्तमा,बैसाख १५ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गरी पार्टीको चुनावी कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् ।
घिमिरे नेकपा एमालेका चुनाव प्रचारका कार्यक्रममा सहभागी हुंदै आचारसंहिता उल्लंघन गरेका हुन् । घिमिरे बुधबार एमालेका उम्मेदवारहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी भए ।
उक्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रदेश अध्यक्ष लिला गिरी लगायतका नेताहरुले नगरपाकिलाका उम्मेदवारलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा मेयर बासुदेव घिमिरे पनि बोलेका थिए । मेयर घिमिरेले बिहीबार वडा नम्बर ४ को एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।

निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ क मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार वहालवाला जनप्रतिनिधि पार्टीको चुनाब प्रचारमा खटिन पाउँदैनन् । ‘वहालवाला प्रमुख-उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन’–भण्डारीले भने ।
घिमिरे तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा वहाल रहेपनि लगातार पार्टीको कार्यक्रममा सहभागी हुन थालेपछि उनको आलोचना हुन थालेको छ ।

तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्ने सामाजिक सञ्जाल फेसबुक पेजमा पनि एमाले उम्मेदवारको पक्षमा प्रचार गरिएको समाचार सामाग्री पोष्ट गरिएको छ । त्यसको आलोचना भएपछि अहिले भने नगरपालिकाले त्यसलाई हटाएको छ ।
नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डेले आचार संहिता उल्लंघन गर्नेमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

भैरहवाका मेयर हरि अधिकारी पनि एमालेको प्रचार प्रसारमा देखिएका छन् । उनले मेयरमा उम्मेदवारी दिएका डा.रामप्रसाद बस्यालको चुनावी प्रचार गरिरहेको पाइएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)