रोल्पा,बैसाख १ ।
नेपाली कांग्रेस रोल्पाले सबै पालिका र वडामा आधा हिस्सा नपाए गठबन्धन नगर्ने भएको छ । कांग्रेस रोल्पाले जिल्ला पार्टी कार्यालयमा गरेको वृहत् छलफलबाट जिल्लाका १० पालिकामध्ये पाँच वडामा प्रमुख र पाँच वडामा उपप्रमुखमा दाबी गर्ने निष्कर्ष निकालेको हो ।
यस्तै ७२ वडामध्ये ३६ वडामा एक सदस्यसहित अध्यक्ष र ३६ वडामा तीन वटा सदस्य पाउनैपर्ने र यो नभए एक्लै चुनावमा जाने जनाएको छ ।
गठबन्धन दलहरूले कांग्रेसको निर्णय मान्न तयार भए गठबन्धन गर्ने नभए सौहार्दपूर्ण तरिकाले एक्लै चुनावमा जाने निष्कर्षमा पुगेको नेपाली कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४ औँ महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्याशीहरूको उपस्थितिमा भएको बैठकको सुझावअनुसार हामी निष्कर्षमा पुगेका हौँ । यसरी नै चुनावमा जाँदा उपयुक्त हुने हाम्रो ठहर छ ।’
कांग्रेस रोल्पाले बैठकको निर्णयअनुसार चुनावमा भाग लिन पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरूलाई निर्देशन पनि दिएको जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)