बुटवल,चैत्र २४ ।
प्रदेश स्तरीय दोस्रो स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका करिब २७ स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए ।
फेस्टसगै आयोजना भएको आईडिया पिचिङ, मेन्टरिङ तथा एक्सपिरियन्स शेयरिङमा २० ओटा स्टार्टअप तथा इनोभेटर्स कम्पनीहरुले आफ्नो व्यवसाय तथा आईडिया प्रस्तुत गरेका थिए ।
जसमध्ये पाँचओटा कम्पनी तथा आईडियाहरु ईबाइक, फूड अन वेज, श्री सिता बाबा मल्टि टेक, लुम्बिनी स्टेम एजुकेसन र फरिद डटकमको एम सेक्युरिटी इन्क्युबेसन तथा मेन्टरिङका लागि चयन भएका छन् । सो प्रतिस्पर्धामा फरिद डट कमको एम सेक्युरिटी प्रथम भएको छ । प्रथम भएको कम्पनी सात्विक न्युट्रिन्ट्सले राष्ट्र्रिय वाणिज्य बैंकबाट १५ लाखको ऋण अनुदान प्राप्त गर्नेछ ।
सेसनमा बुटवलका टेक उद्यमी तथा योङ माईण्ड्सका एमडी डा. अभिजित गुप्ता, तथा युवा स्टार्टअप व्यवसायी प्रकाश न्यौपानेले प्रदर्शनीमा सहभागी स्टार्टअपहरुलाई मेन्टरसिप प्रदान गरेका थिए । संवादमा लुम्बिनी प्रदेशको प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष बाम देव शर्मा, देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री, लुम्बिनी प्रदेश सरकारका आईसीटी विज्ञ रेग बहादुर भण्डारी, बुटवलका अग्रणी आईटी व्यक्तित्व दुर्गा प्रसाद पाण्डे र पाइला टेक्नोलोजीका सहसंस्थापक तथा ईडी आयुष कसजु उपस्थित थिए । साथै कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका मन्त्री तिलकराम शर्मा पनि उपस्थित थिए ।
संवाद सेसनमा लुम्बिनी प्रदेशका सूचना प्रविधि तथा ईगभर्नेन्स विज्ञ मिलन श्रेष्ठ र नेपथ्य कलेज लुम्बिनीका प्रधानाध्यापक सञ्जिब भण्डारीले प्रदेशको डिजिटाइजेसनको अवस्था र कार्यदिशाका बारेमा प्रस्तुती दिएका थिए । यसबाहेक कार्यक्रममा लुम्बिनी प्रदेशको सूचना प्रविधिसम्बद्ध निजी तथा सरकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)