बुटवल,चैत्र २१ ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच २०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट मान्य नहुने बताएका छन् ।
रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो पार्टी २०७८ सालमा बनेकाले २०७४ सालको मतका आधारमा हुने बाँडफाँट स्वीकार्य नहुने बताएका हुन् ।
‘संविधान र व्यवस्था बचाउन गठबन्धन गरेका हौं, सम्मानजनक सिट दिए मानिन्छ, बेइमानी, हेप्ने र चेप्ने काम भयो भने विकल्प सोच्छौं,’ भट्टराईले भने, ‘हाम्रो पार्टी देशलाई विकल्प दिने गरी भर्खरै बनेको भविष्यमुखी पार्टी हो, २०७४ सालको मतको कुरा स्वीकार्य हुन्न ।’
प्रदेशहरुको सीमांकन पहिचानका आधारमा हुनुपर्नेमा त्यसो नभई २ नम्बर प्रदेश वाहेक अरु प्रदेशहरु पञ्चायती व्यवस्थाको विकास क्षेत्रको मोडेलमा भएकाले भारतमा जस्तै सबैको पहिचान झल्किने गरी बनाउनुपर्ने भट्टराईको भनाइ छ ।
नेता भट्टराईले पुराना पार्टीले चुनाव जित्दा सिंहदरबारमा रहेको भ्रष्टाचार सातै प्रदेश र गाउँगाउँसम्म पुगेको टिप्पणी गरे । आफ्नो दलले चुनाव जिते अधिकारसम्पन्न जनलोकपाल गठन गरी राष्ट्रपति, प्रधानमन्त्री प्रधानन्यायाधीशसम्मलाई छानबिन गर्ने बताए ।
भ्रष्टाचार रोक्न र संविधानको अपूर्णतालाई पूर्ण बनाउन संविधान संशोधन अपरिहार्य रहेको भट्टराईले बताए ।राजनीतिक स्थिरता र सुशासनका लागि प्रतयक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसदको व्यवस्थामा जानुपर्नेमा भट्टराईले जोड दिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)