बुटवल,कार्तिक २-
रुपन्देहीकाे भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको स्कारपियो उदयपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ भने ३ जना घाईते भएका छन् ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा बा २० च ७१७१ नम्बरको स्कारपियो कार गएराति दुर्घटनामा परेकाे हाे ।
घाइते ३ जनाको अवस्था गम्भिर छ । बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये अन्दाजी ३०–३२ वर्षका पुरुष, ३०–३५ वर्षका पुरुष र अर्की ३०–३५ वर्षकी महिलाको पहिचान खुलेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् ।
घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)