बुटवल,चैत्र १६ ।
नेपाल पत्रकार महासंघले आज ६७ औं स्थापना दिवस मनाउदै छ । स्थापना दिवसको अवसरमा देश तथा विदेशमा पनि बिभिन्न कार्यक्रमहरुको आयोजना हुदैछ ।
महासंघले यस पटक पत्रकारबीच पहिलो एफएनजे मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरेको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।यो प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको छ ।
साथै, यसले प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई पनि अन्तरक्रिया र संवादको अवसर दिने महासंघको विश्वास छ । प्रतियोगितामा १५ भन्दा बढी टिमका १५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
रुपन्देही शाखाले सैनामैनामा ६७ औं स्थापना दिवस मनाउने भएको हो ।महासंघ रुपन्देहीको विहिबार बसेको सचिवालय बैठकले स्थापना दिवसमा शुभकामना आदानप्रदानसँगै स्थानीय तह र सञ्चार बिषयक अन्तरक्रिया गरेको छ ।
पत्रकार महासंघले विकेन्द्रीकरण मान्यतालाई आत्मसाथ गर्दै सैनामैनामा स्थापना दिवस मनाउन लागेको अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । उनले बुटवल र भैरहवासँगै शहरउन्मूख नगरहरुमा समेत महासंघले कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)