बुटवल,चैत्र १४ ।
साढे ११ कराेड खर्चेर रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा बहुउद्देश्यीय भ्यू टावर खडा गरिएको छ। १ सय ३४ फिट उचाइको भ्यू टावर १० तले छ ।
जहाँबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिन्छ भने दूरवीनको सहायताले भारतको गोरखपुर, नौतनवासम्मका देख्न सकिने दाबी गरिएको छ । तिलोत्तमा नगरपालिका र शकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण भएको भ्यु टावर आर्थिक वर्ष २०७३-०७४ मा ठेक्का सम्झौता भएको थियो।
२०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यु टावरको भुईं तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ। कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यु टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ।
तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यु टावर प्राकृतिक निर्माण सेवाले बनाएको बताए।
भ्यु टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ।
लिफ्ट सुविधा सहित बनेको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी बातानुकुलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरू बनाइएको छ।
भ्यु टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन्। भ्यु टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडी म्युजिकल फाउन्डेसन निर्माण भइरहेको छ।
त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ।गत चैतमा केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्कामा बाँकी कामका लागि सम्झौता भएको उनले बताए।
बन्न बाँकी संरचना अबको २ वर्षमा सम्पन्न हुने जनाइएको छ। भ्यू टावरको भाेलि चैत्र १५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने नगरपालिकाका मेयर बासुदेव घिमिरेले नागरिक अनलाइनलाई जानकारी दिए ।
उता आजै रोल्पाको सदरमुकाम लिवाङमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्यू टावर उद्घाटन गरे । पछिल्लो समय करोडौँ लगानीमा देशभर भ्यू टावर निर्माण भैरहेकोमा निकै आलोचनाका स्वरहरु सुनिन थालेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)