बुटवल,चैत्र १० ।
लुम्बिनी प्रदेशको ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले उज्यालो प्रदेश : लुम्बिनी प्रदेश अवधारणा पत्र सार्वजनिक गरेको छ ।
पाँच वर्ष भित्र विद्युत पुग्न नसकेको ३० प्रतिशत क्षेत्रमा विद्युतिकरण गर्ने योजना मन्त्रालयको छ ।
आज बुटवलमा एक कार्यक्रमको आयोजना गरि अवधारणा पत्रको सार्वजनिक गरिएको हो ।ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री बिर बहादुर रानाले पाल्पाको निस्दी गाउँपालिकाबाट उज्यालो प्रदेशको कार्यक्रम कार्यन्वयन सुरुवात हुने जानकारी दिनु भयो ।
निस्दी गाउँपालिकामा अझैं विद्युतिकरण हुन नसकेको बताउँदै विद्युतको पँहुच नभएको क्षेत्रमा विद्युत सेवा विस्तार गर्दै जाने उँहाले बताउँदै वि.स. २०८३ सम्ममा योजना सम्पन्न हुने लक्ष्य लिएको बताउनु भयो ।
मन्त्रालयको उर्जा विकास कार्यक्रममा रहेको बजेटलाई समन्व्यानात्मक रुपमा लगानी गरिने र आगामी वर्षदेखि बजेट नै विनियोजन गर्दै योजनाको क्रमिक रुपमा कार्यान्वयन गरिने रानाको भनाई छ ।मन्त्री रानाले विद्युत विधेयक ल्याउँने तयारी गरिएको र जनउपयोगि बनाउन सरोकारवालाहरूबीच छलफल गर्दै आएको जानकारी दिनु भयो ।
प्रदेश भित्र विद्युतको पहँुच नभएको क्षेत्रमा विद्युत विस्तार गर्दै विद्युतको विकासका आयोजनाहरुको सम्भाब्यता अध्ययन गर्ने योजना रहेको उँहाले जानकारी दिनुभयो । यस्तै मन्त्रालयका राज्य मन्त्री अर्जुन कुमार श्रेष्ठले आर्थिक, सामाजिक दृष्टिले पछाडि परेका सिमान्त्कृत वा पिछडिएको क्षेत्रका समुदायलाई प्राथमिकता राख्दै कार्यक्रम सञ्चालन गरिने जानकारी दिनु भयो ।
उँहाले अन्तर सरकार,मन्त्रालय र निकायबिच भरपर्दाे समन्वय तथा परिचालनको समस्या रहेको बताउनु भयो ।मन्त्रालयका सचिब दिपक घिमिरेले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये रुकुम पुर्वमा ८८.७५ प्रतिशत क्षेत्रमा अझैं विद्युतिकरण हुन नसकेको जानकारी दिनु भयो ।
रोल्पामा ५८ , पाल्पामा २० , गुल्मीमा २० , कपिलबस्तुमा १९, दाङमा १८ , बाँकेमा १७ , नवलपरासी पश्चिममा १५ , रुपन्देहीमा १३ , अर्घाखाँचीमा ९ , प्युठानमा ९ , र बर्दियामा ५ प्रतिशत क्षेत्रमा अझैं विद्युतिकरण हुन बाँकी छ । विद्युतिकरणको लागि करिब ३ अर्ब लागत लाग्ने मन्त्रालयले अनुमान गरिएको उँहाले बताउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)