बुटवल,चैत ८।
लुम्बिनी प्रदेशकी कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीलाइ हटाउन भन्दै जसपा नेपालमा निवेदन परेको छ ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ की रुपा थापा क्षेत्रीले रायमाझीलाई निर्वाचित सूचीबाट हटाई आफ्नो नाम समावेश गर्न माग गर्दै जसपा नेपालको केन्द्रीय कार्यालय, लुम्बिनी प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् ।
उनलाई प्रदेशसभा सदस्यको सूचीबाट हटाउन माग गर्ने रुपा उनकै मिल्ने साथी हुन् । रुपा जसपाको संघीय परिषद् सदस्य समेत हुन् ।
शंकर पोखरेल नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि पनि उनी झमेलामा परेकी थिइन् । पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो । पार्टीले गरेको कारवाहीलाई चुनौती दिँदै उनीसहितका ४ जना सांसद अदालत पुगेका थिए । रायमाझीको मुद्दा तामेलीमा परेको छ भने लगत्तै उनले आफूलाई सांसद बनाउनु पर्ने मागसहित निवेदन दिएकी छन् ।
त्यो बेला पार्टीले रायमाझीसँगै सांसदहरु सन्तोष पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादवलाई कारबाही गरेको थियो । अदालतमा मुद्दा चलेकै अवस्थामा रायमाझी एमाले नेतृत्वको तत्कालीन सरकारबाट फिर्ता भइन् भने पार्टीले पनि कारवाही फिर्ता लियो । पार्टीमा फर्केपछि उनलाई गठबन्धन सरकारमा सहभागी गराइयो ।
कारबाही फुकुवाको कागज अदालतमा पेस नगरेपछि उनको मुद्दालाई अदालतले तामेलीमा राखिदिएको थियो । त्यसैलाई आधार मान्दै अहिले रुपाले मन्त्री रायमाझीलार्ई झमेलामा तान्ने प्रयास गरेकी छन् ।
रुपा र सुमन शर्मा रायमाझी लामो समय सँगै राजनीति गरेका व्यक्ति हुन् । रुपाको फेसबुक पेजमा दुवै जना सँगै हिँडेका थुप्रै तस्बिर देखिन्छन् । उनलाई प्रदेशसभा निर्वाचनको समानुपातिक सूचीमा सामेल गरिएको छ ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले इमेलबाट रुपाको पत्र आएको बताए । तर उनले त्यो व्यक्तिगत पत्रले मात्र कानुनी रुपमा अगाडि जान नसक्ने बताए ।
मन्त्री सुमन शर्मा रायमाझी आफूविरुद्ध रुपाले पठाएको पत्रको वैधानिकता नहुने दाबी गर्छिन् । शंकर पोखरेलाई समर्थन गरेकी रायमाझीलाई पार्टीले कारवाही गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)