चितवन,चैत्र ६ ।
चितवनमा जारी प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आज सम्पन्न भएका छन्।
पहिलो खेलमा चितवनलाई ७ बिकेटले हराउदै मकवानपुर फाइनलमा प्रवेश गर्ने पहिलो टोली बन्दा नव प्रवेशी धादिङ्गले काभ्रेलाई स्तब्ध पार्दै फाइनलमा आफ्नो स्थान सुनिश्चित गर्यो। पहिलो सेमीफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली चितवनले पुरा २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १३५ रन मात्र जोड्न सक्यो ।
चितवनका लागी प्रारम्भिक ब्याट्सम्यान सनम बुडाथोकि र साकार ढकालले १०० रनको सुरुवाती साझेदारी दिएता पनि ठूलो योगफल भने बनाउन सकेनन् , सनम बुडाथोकि ले ब्यक्तिगत ४४ बलमा ६५ रन जोड्नु बाहेक अन्य कुनै खेलाडीले १७ रन भन्दा माथिको रन जोड्न सकेनन् , १३६ रनको मध्यम लक्ष पछ्याएको मकवानपुरले १४ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पार गर्यो ।
मकवानपुरको लागी सुभ कंसकारले ३७ बलमा ८४ रनको बिस्फोटक इनिङ्ग खेल्दै टिमलाई जित दिलाउन सफल भए उनी सो खेलको प्लेअर अफ दि म्याच घोषित भए। आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नब प्रवेषि टोली धादिङ्गले काभ्रेलाई १५५ रनको बिशाल अन्तरले पराजित गर्दै मकवानपुर संगको फाइनल भिडन्त पक्का गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको धादिङ्गले २० ओभरमा ५ बिकेट गुमाएर १९४ रन जोड्न सफल भयो धादिङ्गका लागी अमृत थापाले ५४ र आरम्भ तिमल्सिनाले ४४ रनको योगदान दिए ।
१९५ रनको बिशाल लक्ष्य पछ्याएको काभ्रे सुरुवातमै राष्ट्रिय खेलाडी सुभाष खकुरेलको बिकेट गुमाएपछि दबाबमा आउदैं १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमै समेटियो । काभ्रेलाई सस्तैमा समेट्ने क्रममा घादिङ का सन्देस सापकोटा ले ४, स्याम त्रिपाठी ले ३ र रुपेष भुजेलले २ विकेट लिन सफल भए ।
अलराउन्ड प्रदर्शन गरेका स्याम त्रिपाठी प्लेअर अफ दि म्याच घोषित भए। प्रतियोगिताको फाइनल खेल भोली बिहान ९ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा वागमती प्रदेशका १२ जिल्लाको सहभागीता रहेको छ , प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् वागमती प्रदेशले आयोजना गरेको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)