बुटवल,चैत ५ ।
सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न तेश्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट अध्यक्षमा अमृता अनमोल चयन भएकी छन् ।
उपाध्यक्षमा रुपा गहतराज, महासचिबमा मेनका चौधरी, सचिवमा माया केसी, कोषाध्यक्षमा उषाकिरण पन्त चयन भए ।
सदस्यहरुमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत सर्वसम्मत चयन भएका छन् ।
महासचिव पदमा भने सहमति नजुटेपछि मतदान भएको हाे । २४ मतदाता मध्ये मेनकाले १४ मत पाएर बिजयी भइन् भने प्रतिस्प्रर्धी उम्मेदवारले ९ मत पाइन् ।
निर्वाचनका लागि अग्रज पत्रकार भरत केसीको संयोजकत्वमा निर्वाचन कमिटि चयन भएको थियो । समूहको साधारण सभा उद्घाटन कार्यक्रममा ५ जना अगुवा महिलालाई सम्मानित गरेको छ । जसमा रासस दाड.का संवाददाता नारायणी रजौरेलाई संघर्षशील पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत गरेको छ । यस्तै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीलाई संघर्षशील महिला नेताका रुपमा सम्मानित गरेको छ ।
यस्तै रुपन्देहीका उद्यमी रचना पन्त, सावित्रा टण्डन र मन्जु ज्ञवाली भुसाललाई संघर्षशील महिला उद्यमीका रुपमा सम्मानित गरेको छ ।
उद्घाटन सत्रमा बोल्दै मन्त्री रमा घर्तीले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि र प्रोत्साहनकालागि सहयोग गर्ने बताउनुभयो । उहाले सत्य तथ्य र खोजी समाचारकालागि पत्रकार महिलाहरु मेहनती भएर लाग्न सुझाब दिनुभयो ।
संविधान सभा सदस्य विनोद पहाडीले पत्रकार महिलाहरुको संघर्षलाई समाजको सहयोग रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, प्रदेश महासचिव विक्रम खड्का, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सामुदायिक टेलिभिजन नेटवर्कका अध्यक्ष दिनेश पाण्डे, रासस लुम्बिनी प्रमुख भरत केसी,प्रेस चौतारी नेपाल सचिव प्रदीप आचार्य , प्रेस संगठन लुम्बिनी उपाध्यक्ष रुद्रहरी कुंवर, दलित पत्रकार संघका विनोद कुमार परियार, प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, डब्लुडब्लु जेका अध्यक्ष कल्पना तिवारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)