बुटवल,चैत ३ ।
रङको पर्व फागु अर्थात् हाेली आज मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।
तराईका जिल्लामा भने भोलि होली मनाइन्छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा रहेको गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारेर गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व विधिवत् रुपमा सुरु भएको थियो । होलीको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
यसैबीच, होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)