बुटवल,फागुन २७।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको विशिष्टिकृत‘कृषि मेला-२०७८’ को तयारीको काम तिब्र पारिएको छ । मेला सञ्चालनको मिति नजिकिँदै गर्दा संघले तयारीको कामलाई तिब्र रुपमा अगाडि बढाएको हो ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय,बुटवल उपमहानगरपालिका,नेपाल उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्य विकास निर्देशनालयको प्रवद्र्धनमा यहि चैतको १० देखि १४ गतेसम्म संघको सचिवालय परिषर बालमन्दिर बुटवलमा कृषि मेला गर्न लागिएको हो ।
संघले छोटो समयमा कृषि मेला गर्न लागेकोले पनि त्यसको तयारी तिब्र गतिमा गर्नु परेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनुभयो ।‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारा सहित सञ्चालन गर्न लागिएको कृषि मेलामा व्यवसायिक कृषि तथा त्यसको लागि कृषिमा प्रविधि र उपकरणको प्रयोगलाई जोड दिईएको छ ।
सञ्चालन गर्न लागिएको मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति र विभिन्न उपसमितिहरुले जिम्मेवारीमा रहेका कामलाई तिब्र रुपमा अगाडि बढाएको संघको कार्यसमिति सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक जमुना पौडेलले नागरिक अनलाइनलाइ बताउनुभयो ।
ती समितिहरु मेलालाई फलदायी रुपमा सम्पन्न गर्नको लागि पत्राचार, मूल व्यवस्थापन,आर्थिक व्यवस्थापन, प्रचारप्रसार, समन्वय, स्टल बुकिङ् तथा व्यवस्थापन, सौजन्य लगायतको काम भईरहेको छ ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा ४५ स्टल राखिने छ। मेलामा कृषि तथा पशुपालन सम्बन्धि विशिष्ट उत्पादनको प्रदर्शनी तथा कृषि सम्बन्धि कार्यशाला गोष्ठि समेत गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव बिमलराज भट्टराईले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)