बुटवल,फागुन २४ ।
गृहमन्त्री बालकृष्ण खाँणले बर्तमान सरकार आलोचना सहन तयार रहेको बताएका छन् ।
उनले सञ्चारमाध्यम र पत्रकारिताले सत्य तथ्य उजागर गरेर सरकारलाई सच्चिने मौका दिन आग्रह गरे। नेपाल प्रेस युनियन रूपन्देहीले मंगलबार तिलोत्तमामा आयोजना गरेको पुरस्कार वितरण समारोहलाइ सम्बोधन गर्दै उनले सत्य कुरा जनतामा लैजाने काम मिडियाको भएको बताए ।
हरेक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरेको बताउदै अधिकार प्रयोग गर्दा अन्य नागरिकको अधिकारमाथि अतिकमण नगर्न गृहमन्त्रीको अपिल छ ।
उनले काँग्रेस जहिले पनि नागरिक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले काँग्रेस नेतृत्वको सरकार र कम्युनिस्ट विच धेरै फरक रहेको बताए । कम्यूनिष्टहरूको सरकार हुदा माईतिघर मण्डलामा विरोध गर्न पाईदैनथ्यो, तर अहिले संसदबाट पारित एमसिसिको विरोधमा प्रर्दशन हुदा सरकारले सुरक्षा दिएको उनको भनाइ छ ।
खाँणले एमसिसि नेपालको अधिकार र बिकासका लागि भएको बताएका छन । उनले अविकसित देशहरूको गरिबी, बेरोजगारी, दरद्रता अन्त्य गर्नका लागि मिलेनियम च्यालेञ्ज कर्पाेरेशन परियोजना बनेको बताए ।

उनले लोकतान्त्रिक, प्रेस स्वतन्त्रताको भएको मूलुक भएको देशमा मात्रै लागू हुने बताए । उनले सबै पार्टीका नेताहरू संलग्न भएकाले एमसीसीको विरोधमा कोहि पनि नरहेको बताए ।
सञ्चारकर्मीहरुले पनि एमसीसीबारे सत्यतथ्य उजागर गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएको भन्दै संसदले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको बताए ।
विद्युत प्रसारण लाईन निर्माण गरी विदेशमा विद्युत निर्यात गरेर मुलुकको व्यापार घाटालाई कम गर्न एमसिसी परियोजना महत्वपूर्ण हुने र यसबाट ठूलो संख्यामा रोजगारी पनि सिर्जना हुने भएकाले यो मुलुकको हितमा रहेको उनले दावी गरे ।
गृहमन्त्री खाँँणले आगामी निर्वाचन काँग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताए । “लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि काँग्रेसको जित आवश्यक छ”–उनले भने ।
उनले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गरे । “हामी त्यस्ता शक्तिहरुसँग पनि सहकार्य गर्न तयार छौं, मूल धारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रवन्ध गरिरहेको छ”–गृहमन्त्री खाणको भनाई छ ।
उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले काँग्रेसको नेतृत्वमा मात्रै लोकतन्त्र र संविधानको रक्षा हुने दावी गरे ।
कार्यक्रममा काँग्रेस रूपन्देही सभापति रामकृष्ण खाँण, काग्रेसका क्षेत्रिय सभापति हरि लम्साल, खिमानन्द भट्टराइइ ,नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेल,युनियन सभापति रेखा भुसाल,प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल,युनियनका उपसभापति दीपक घिमिरे,कार्यबाहक सचिब कल्पना तिवारी लगायतले बोल्दै लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताए ।
सोहि अबसरमा पत्रकार माधब नेपाल र हरिष ढकाल पुरस्कृत भएका छन् । पत्रकारद्वय नेपाल र ढकाल नेपाल प्रेस युनियन रुपन्देहीद्वारा स्थापित जीपी कोईराला स्मृति पत्रकारिता पुस्कारबाट सम्मानित भएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले एक कार्यक्रमका बीच मंगलबार उनीहरुलाई नगद २५ हजारसहित पुरस्कृत गरेका हुन् । पत्रकार ढकाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७६ र नेपाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७७ बाट पुरस्कृत भएका हुन् ।
पत्रकार नेपाल बीबीसी नेपाली सेवामा कार्यरत रहेका छन् भने ढकाल नेपाल टेलिभिजनमा कार्यरत छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)