बुटवल,फागुन २४ ।
रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समाराेह गरेको छ ।
कार्यक्रममा बोल्दै गृह मन्त्री बालकृष्ण खाँणले देशको आर्थिक समृद्धिका लागि एमसीसी परियोजना कोसेढुङ्गा सावित हुने बताएका छन् । उनले खेर गैरहेको जलस्रोतलाई सहि सदुपयोग गरेर त्यसबाट उत्पादनहुने विद्युतको व्यापारले समग्र आर्थिक क्षेत्र चलायमान गर्न मद्धत गर्ने विश्वास व्यक्त गरे ।
फरक प्रसङ्गमा बोल्दै उनले देशको शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै शान्ति सुरक्षामा खलल पुग्ने गरी गतिविधि सञ्चालन गर्ने कुनै पनि दलवा समूहप्रति सरकार कठोर रहने बताए । उनले कुनै पनि बहानामा नागरिकको ज्यान जाने अवस्था नआओस् भन्ने प्रति सरकार सचेत रहेको उल्लेख गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक मनोज गैरे, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, नेपाल सरकारका सहसचिव तथा सह न्यायाधिवक्ता मोहन सागर बस्याल, शिक्षक महासंघ रुपन्देहीका सचिव लिलाधर न्यौैपाने, देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्मा लगाएतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पुर्याउने प्रतिबद्धता जनाउँदै शुभकामना दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै राज्यले शिक्षा क्षेत्रमादायित्व र दायरा बढाउनु पर्नेमा जोेड दिए।
वार्षिकोत्सवका अवसरमा विद्यालयको वृहत्तर विकासका लागि खटिने २४जना शिक्षक कर्मचारीहरु र २ जना विद्यालय व्यवस्थापन समिति सदस्यलाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा अक्षयकोष स्थापना गर्ने ११ जना दाताहरु र विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने ३ वटा संस्थालाई सम्मान गरिएको थियो ।
यसैगरी एसइइमा जिपिए ४ प्राप्तगर्न सफल ५ जना विद्यार्थीहरुलाई स्वर्ण पदकबाट, जिपिए ३.९० भन्दा माथि प्राप्त गर्ने १६जनालाई रजत पदकबाट सम्मान गरिएको थियो ।
त्यस्तै दाताहरुले स्थापना गरेका ६५ वटा छात्रवृत्ति विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ३२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै गतवर्ष एसइइ उत्तीर्ण ४ सय ४२जना र कक्षा १२ उत्तीर्ण ३ सय ६३जना विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
यसैबीच मन्त्री बालकृष्ण खाँणले विद्यालयमा निर्माण भएको १२ कोठे तथा ६ कोठे भवन, एच।एम। ल्याबको उद्घाटन गरका छन् । नमूना विद्यालय अनुदान सहयोग र आन्तरिक श्रोतबाट उक्त भवनहरु निर्माण गरिएको हो । यसैगरी मन्त्री खाँणले १६ कोठे भवनको शिलान्यास र विद्यालयको वार्षिक मुखपत्र नानीको विमोचन गरेका विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिए ।
कार्यक्रममा शिक्षक प्रतिनिधि चन्द्रकान्त पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अंग्रेजी माध्यम संयोजक दिपेन्द्र कुमार शाक्य र दशजोड दुईका संयोजक राजेन्द्र केसीले गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्यहरु, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गरेका थिए ।विद्यालयमा हाल करिव ४३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय५० जना शिक्षक कर्मचारी कार्यरत छन् ।
पत्रकार कृष्ण मल्ल शिक्षा पत्रकारिता पुस्कारबाट सम्मानित भएका छन् । तिलोत्तमा स्थित शान्ति नमुना माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सवको अवसरमा पत्रकार मल्ल पुस्कारसहित समानित भएका हुन् ।
उनलाई गृहमन्त्री बालकृष्ण खाँणले दोसल्ला ओढाएर नगदसहित सम्मानित गरेका हुन् । पत्रकार मल्ल बुटवलबाट प्रकाशित बुटवल टुडे दैनिकका सम्पादक र शिक्षा पत्रकार समूहका केन्द्रिय अध्यक्ष समेत हुन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)