बुटवल,फागुन २३ ।
बाँके प्रहरीले तीन जना युवालाई पेस्तोल र ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी राधापुरका प्रमुख प्रहरी नायब निरीक्षक रवीन्द्र बमको नेतृत्वमा खटिएको टोलीले आइतबार ९० ग्राम ब्राउन सुगर र एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको हो।
उनीहरूलाई खजुरा गाउँपालिका वडा नम्बर १ स्थित रवीन्द्र थापाको घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्लास्टिकमा बेरेर राखेको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाइराखेको स्वचालित पेस्तोलसहित सोही घरका २५ वर्षीय रवीन्द्र थापा, खजुरा २ का २७ वर्षका मनिष थापा र नेपालजञ्ज १३ का २८ वर्षका सुरेश रोकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई ब्राउन सुगर सेवन गरेको अवस्थामा पक्राउ गरिएकाले लागु औषद् तथा हातहतियार खरखजना मुद्धा अन्तर्गत कारबाही हुने बताइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)