बुटवल,फागुन २० ।
नेपाली काँग्रेस बाँके सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित हुनु भएको छ । संस्थापन इतर समूहका गौडेल ७६० मतका साथ सभापतिमा विजयी हुनु भएको हो ।
बाँके कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनबाट आफ्ना प्रतिद्वन्दी बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै सभापति पदमा गौडेल निर्वाचित हुनुभएको हो । कुर्मीले ६६३ मत पाउनु भएको छ ।
आज भएको दोस्रो चरणको मतदानमा कुल १४९३ मतादातामा १४३९ जनाले मतदान गरेका थिए भने १६ मत बदर भएको थियो ।
सभापतिको हिजो भएको पहिलो चरणको मतगणनामा गौडेलले ५६९ मत ल्याएर पहिलो हुनुभएको थियो भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्नु भएको थियो ।
प्रतिस्पर्धाबाट बाहिरिएका हमालले संस्थापन इतरका गौडेललाई समर्थन गर्दै मतदातालाई गौडेललाई भोट दिन निर्देशन दिएपछि यस्तो परिणाम आएको छ ।
बाँकेमा संस्थापन पक्षमा झण्डै ६५ प्रतिशत मत भएर पनि आपसी किचलोले संस्थापनले नेतृत्व गुमाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)