बुटवल,फागुन १७ ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बुटवलको आयोजनामा ८६ औं परमात्मा अवतरण महाशिवरात्री पर्व मनाईएको छ ।
दुर्ब्यसन तथा कुरीतिबाट मुक्त भएर प्रेरक शक्तिको पर्वको रुपमा शिवरात्री पर्व मनाउनु पर्ने उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।
उच्च अदालत बुटवल ईजलाशका न्यायाधीश अग्नि प्रसाद थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै उनले धर्मले मानिसलाई अनुशासित बनाउने र समाजमा शान्तिको स्थापना हुनेमा जोड दिए । धार्मिक संघसंस्थाहरुले समाजमा हुने विकृति, विसंगती न्यूनिकरणमा सहयोग पुराएको थपलियाले बताउँदै धार्मिक संघसंस्थाले समाजमा शान्तिको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । विद्यालय , विश्वविद्यालयमा पुर्विय दर्शनका नैतिक शिक्षा दिन सके समाजमा हत्या हिंसा रोक्न सकिने उनको भनाई छ ।
ब्रम्हाकुमारी नेपालका सह–निर्देशक ब्रम्हाकुमारी कमला दिदीले समाजमा रहेको दुव्र्यसनी तथा भ्रष्टाचारलाई निरुत्साहित गर्दैै उच्च नैतिक समाज निर्माणका लागी शिवरात्री पर्व मनाउने गरिएको बताईन । उनले महाशिवरात्रीमा भाङ्ग, धतुरो , वा नशालु पदार्थ शिवजीलाई अर्पण गरेर आफुमा भएको कुलत त्याग्नु नै महाशिवरात्री पर्वको महत्व रहेको दाबी गरिन ।
शिव भनेको परमात्मा र रात्री भनेको अज्ञानता भएको कमला दिदिले बताउँदै अज्ञान रात्रीमा नै परमात्माको अवतरण भएर हाल अज्ञानताको नाश भैरहेको र युग छिटै रुपान्तरण हुने बताइन् ।
यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी , नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेय, ब्रह्मकुमारी बुटवलका सचिब ब्रह्मकुमार नारायण , ब्रह्मकुमार भरत लगायतले बोल्नु भएको ब्रह्मकुमार ऋषिराम न्यौपानेले जानकारी दिए ।
यस्तै सोही अवसरमा बुटवलमा निर्माणाधिन अवस्थामा रहेको उत्कृष्ट राजयोग सभागृहमा ध्वजारोहण पनि गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)