बुटवल,फागुन १६ ।
नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ। एमसीसी संसदबाट अनुमोदन भएपछि विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन्।
बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन्। सहरका भित्री भागमा भने अधिकांश पसल खुलेका छन्।
बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही र बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ। बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसल र सहरका मुख्य बजार आंशिक रुपमा खुलेका छन्।
लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन्। बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)