Logo बिहिवार, आश्विन १ गते २०८३
images

युक्रेनमा रहेका १९३ जना नेपाली दूतावासको सम्पर्कमा

युक्रेनमा रहेका १९३ जना नेपाली दूतावासको सम्पर्कमा

  • 2.4K
    SHARES

  • युक्रेनमा रहेका १९३ जना नेपाली दूतावासको सम्पर्कमा

    काठमाडौं, फागुन १४।

    युक्रेनमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । 

    ‘दूतावासमा सम्पर्कमा आउनुभएका १९३ जना नेपाली नागरिकहरु हालसम्म सुरक्षित हुनुहुन्छ,’ जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थिति सम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ । 

    रुसले बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको खोजी गर्न थालिएको हो ।  दूतावासले यसअघि स्थायी रुपमा बसोबास गर्दै आएको ३८ जना र युरोप र अमेरिका जाने क्रममा करिव दुई सय नेपाली युक्रेनमा रहेको बताएको थियो । तीमध्ये १९३ जना दूतावासको सम्पर्कमा आएका हुन् । 

    गैरआवासीय नेपाली संघ एनआरएनएले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको जनाएको छ । 

    युक्रेनी सैनिकसहित कम्तीमा १४० नागरिकको मृत्यु : 

    गत बिहिबारबाट रूसले युक्रेनमा आक्रमण सुरु गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै जल ट्ठ, स्थल र हवाई सेनाल युक्रेनका विभिन्न शहरमा आक्रमण थालेका हुन् । आक्रमण शनिबार सम्म पनि जारी रह्यो ।  रूसी आक्रमणका कारण शुक्रबार कम्तीमा १४० जनाको ज्यान गएको थियो भने शनिबार सम्म संख्या थपीने अनुमान गरिएको छ  ।

    युक्रेनी सैनिकसहित कम्तीमा १४० नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार रूसी सेनाको आक्रमणबाट युक्रेनी सेनासहित १३७ नागरिकको मृत्यु भएको हो । युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले रूसी सेनाले दर्जनौैं गैरसैनिक स्थललाई निसाना बनाइरहेको बताए । तर, यो संख्या धेरै भएको अपुष्ट समाचारहरू सार्वजनिक भइरहेका छन् । 

    रूसी फौज तीव्र रूपमा उत्तर, पूर्व र दक्षिणतिरबाट राजधानी किएभतर्फ बढिरहेका छन् । आक्रमणको दोस्रो दिन रूसी फौज युक्रेनको राजधानी किभमा प्रवेश गरेको छ । राजधानी किभको उत्तरी जिल्लाहरूमा रूसी सेना प्रवेश गरेको युक्रेनले जनाएको हो । भिडियोहरूमा किभको उत्तरी जिल्ला हुँदै बख्तरबन्द गाडीहरू अगाडि बढिरहेको देखिन्छ । त्यहाँका बासिन्दाहरूले भूमिगत रेल्वे स्टेसनमा आश्रय लिएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार रूसी आक्रमणकारीहरू शहरभित्र पहिल्यै पुगिसकेका छन् ।

    युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसा र मरिउपोलमा पनि रूसी नौसेना पुगेका छन् । त्यस्तै, राजधानी किभस्थित बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैनिक अखडा, सैनिक मुख्यालय तथा किभ, डिनिप्रो र खर्किभस्थित सैनिक गोदामहरूमा पनि रूसी सेनाले आक्रमण गरेको छ । 

    आक्रमणबाट बच्न हजारौं स्थानीयले थातथलो छाडेका छन् भने कतिपय मेट्रो स्टेसनमा बास बसिरहेका छन् । एटिएम, विमानस्थल र सडकमा समेत जाम छ । बिबिसीका अनुसार रूसी सेनाले युक्रेनका पूर्व, उत्तर र दक्षिणतर्फबाट आक्रमण सुरु गरेको हो । हवाई सेनाले क्षेप्यास्त्र तथा बम प्रहार गरिरहेको छ । युक्रेनको राजधानी किभसहित १२ स्थानलाई लक्षित गर्दै रूसी सेनाले आक्रमण तीव्र पारेको छ । 

    युक्रेनी सेनाले आफ्नो जवाफी कारबाहीमा रूसी सेनातर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ  । रूसका कम्तीमा ५० सैनिक मारिएको उसको भनाइ छ  । बिबिसीका अनुसार राजधानी किभका थुप्रै बासिन्दा शहर छोडेर भागिरहेका छन् । आपत्कालीन संकेतस्वरूप साइरन बज्न थालेपछि स्थानीय बासिन्दा किभबाट बाहिरिन थालेका हुन् । 

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई युद्धविराम गर्न अपिल गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology