विराटनगर,फागुन १४ ।
मोरङको लेटाङ नगरपालिका-८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको छ । साे घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।
हत्यामा संलग्न लेटाङ-८ का ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।
विद्यालयबाट घर फर्किने क्रममा बाटोमा एक्लै भेटिएकी बालिकालाई गिरीले नियन्त्रणमा लिएर बलात्कार गरेको र ढुंगाले हानेर हत्या गरेपछि शव एकान्त खोँचमा फ्यालेर माथिबाट ढुंगाले छोपिदिएको पाइएको जीसीले बताए।
जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा विद्यालयबाट घर फर्किने क्रममा गत बुधबार साँझदेखि हराइरहेकी थिइन्। खोजी गर्ने क्रममा खोँचभित्र ढुंगाले छोपेको अवस्थामा शुक्रबार बिहान उनको पूर्ण नग्न शव भेटिएको हो।
विद्यालयका प्रधानाध्यापक उत्तमराज खतिवडाले बिहान १० बजे विद्यालय आएकी बालिका दिनभर पढेर अपरान्ह ४ बजे छुट्टि भएपछि घर फर्किएको बताए। बालिकाको हत्यामा संलग्नलाई कानुन अनुसार कारबाही हुनुपर्ने माग विद्यालयले गरेको उनको भनाइ छ। खतिवडाका अनुसार अभिभावक, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय र प्रहरी सबै मिलेर खोजी गरिरहेका बेला जाँते–ज्यामिरे सडक खण्डबाट लगभग सय मिटर तलको खोँचमा नांगो अवस्थामा बालिकाको शव भेटियो।
एसपी जीसीका अनुसार बालिकाले स्कुल जाँदा लगाएको पोसाक घरनजिक ल्याएर जलाएको पाइएपछि गिरीलाई नियन्त्रणमा लिइएको हो। सुरुमा उनले केही दिनअघि मृत्यु भएकी आफ्नी पत्नीको कपडा जलाएको प्रहरीलाई बताएका थिए। नियन्त्रणमा लिएर सोधपुछ गर्दा गिरीले घटना स्वीकार गरेको जीसीको भनाइ छ।
उनका अनुसार बलात्कारको पोल खुल्ने बालिकाको हत्या गरेको पाइएको छ। घटना कसैले थाहा नपाउन भनेर कपडा भने घरछेउमा ल्याएर जलाएको जीसीले बताए। उनका अनुसार घाँटी, टाउको, शरीरका विभिन्न भाग र यौनअंगमा चोट लागेको अवस्थामा बालिकाको शव भेटिएको हो। गिरीविरुद्ध प्रहरीले जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ।
प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ। त्यसअघि हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय र विद्यार्थीले प्रदर्शन गर्दा घटनास्थलको अवस्था तनावपूर्ण बनेको थियो। पोस्टमार्टमका लागि लैजान शव हालिएको एम्बुलेन्सलाई सडकै छेकेर उनीहरु दिनभर प्रदर्शन र नाराबाजीमा उत्रिका थिए।
आफै घटनास्थलमा पुगेका एसपी जीसीले जनप्रतिनिधिदेखि सबैसँग समन्वय गरी सम्झाईबुझाई गरेपछि आन्दोलनमा उत्रिएकाहरु शव पोस्टमार्टमका लागि लैजान दिन राजी भएका हुन्। उनले दोषीमाथि कानुन अनुसार कारबाही गर्ने प्रतिवद्धता पनि जनाए। जीसीले पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि घटनाका बारेमा थप कुरा खुल्ने बताए।
स्थानीय राजशम्शेर थापाले जंगलको बाटो विद्यालय जानुपर्दा बालबालिका असुरक्षित भइरहेको बताए। विद्यालयले स्कुल बसको व्यवस्था गर्नुपर्ने, जंगलको बाटोमा सुरक्षाकर्मीको दरिलो उपस्थिति हुनुपर्ने, प्रहरी चौकी स्थापना गरिनुपर्ने, बालिकाको हत्यामा संलग्न दोषीमाथि कारबाही अघि बढाइनुपर्ने, मृतक बालिकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर दिनभर प्रदर्शन र नाराबाजी भएको जानकारी उनले दिए।
थापाका अनुसार स्कुले बालिकाको हत्या गरेर शव फ्यालिएको जानकारी पाएपछि बिहानैदेखि घटनास्थलमा विद्यार्थी र ठूलो संख्यामा स्थानीय भेला भएका थिए। खोँचबाट शव निकालेको देखेपछि त्रसित बनेका विद्यार्थी बालबालिका दिनैभर रोएर बसेको उनले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)