बुटवल,फागुन ११ ।
एमाले अध्यक्ष केपी शर्मा ओली आजबाट ७१औं वर्षमा प्रवेश गरेका छन् । दुई कार्यकाल नेपालको प्रधानमन्त्री बनेर सत्ता सम्हालेका ओली आजबाट ७० वर्ष पूरा भएका हुन् ।
ओली बिस २००८ साल फागुन ११ मा तेह्रथुम जिल्लाको आठराई तत्कालीन इवा गाबिस सिम्लेमा जन्मिएका थिए । तर पछि उनको परिवार झापा बसाइ सरेको थियो । उनको आमा केपी सानै छँदा बितेकी थिइन् । उनलाई बुबा मोहनप्रसद ओलीले हुर्काएका थिए ।
दुई पटकसम्म किड्नी प्रत्यारोपण गरेका ओलीले नेपाली राजनीतिमा हक्की स्वभावका नेताको छवी बनाएका छन् । ठट्यौली र उखान टुक्काले बिपक्षीकालाई कटाक्ष गर्ने उनको अभिव्यक्ति र भाषणको प्रभावले गैर एमाले कार्यकर्ताहरुले पनि उनलाई मन पराउने गर्दछन् ।
आफू प्रधानमन्त्री भएको बेला २ वर्ष अगाडि उनले आफ्नो जन्मदिन तेह्रथुमको आठराई पुगेर मनाएका थिए । तर उनको बर्थ डेमा नेपालको नक्साको केक बनाएर काटेको र ५ वटा हेलिकप्टर चार्टर्ड गरेको भन्दै आलोचित भएका थिए ।
गतसाल उनले बालकोटमै सामान्य रुपमा मनाए । उनका बुबा हाल झापामा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)