बुटवल,फागुन ९ ।
युवा साहित्यकार भीष्मराज फुलाराको चौँथो कृति ‘वासुदा’ उपन्यास सार्वजनिक भएको छ । साहित्यकार डा.नवराज लम्साल, समालोचक ज्ञाननिष्ठ ज्ञवाली, लेखक फुलारा र उहाँका दाजु वासुदेव फुलाराले आज राजधानीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा कृति लोकार्पण गर्नुभयो ।
समालोचक ज्ञवालीको नौ पृष्ठ लामो भूमिका रहेको कृतिमा छ । उपन्यासमा सङ्घर्ष, प्रेम र उद्देश्यको त्रिवेणी रहेको समीक्षा गर्दै ज्ञवालीले बताउनुभयो । ज्ञवालीले भूमिका लेख्नुभएको यो ७५ औँ पुस्तक भएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।
लम्सालले उपन्यासमा लेखकले आफ्ना दाजु भाउजुको प्रेमकथालाई विषयवस्तुका रूपमा प्रस्तुत गरेर नयाँ प्रयोग गर्नुभएको सुनाउनुभयो । लेखकले आफू साहित्यमा लागेर अपार आनन्द पाएको बताउनुहुँदै लेखनमे आनन्दानुभूति हुन थालेको अनुभव सुनाउनुभयो । लेखकका दाजु वासुदेव फुलाराले आफ्नो संघर्षको कथा उपन्यासमा आए पनि यो धेरै युवाको कथा भएको चर्चा गर्नुभयो । कार्यक्रमको आयोजना फुलारा लिटरेचर फाउन्डेसनले गरेको हो ।
उपन्यास २४३ पृष्ठको छ । पुस्तकको प्रकाशन फुलारा लिटरेचर फाउण्डेशनले गरेको हो । उपन्यासको मूल्य साधारण गाता ३५५ र बाक्लो गाता रु ५५० छ । पुस्तकलाई थ्री स्टार प्रिन्टिङ प्रेसले मुद्रण गरेको हो । लेखकका यसअघि ‘नफापेको मान्छे’ र ‘टुहुरो कुण्डली’ उपन्यास एवं ‘नेपाली भाषा र साहित्यको इतिहास त्यहाँदेखि यहाँसम्म’ साहित्यिक इतिहासको कृति प्रकाशन भइसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)