बुटवल,फागुन ५ ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि उर्जाशिल अवसर तथा रोजगारको आवश्यकता रहेको सरोकारवालाले बताएका छन् । फाउण्ड परियोजना बुटवल क्लस्टरले अपाङ्गता भएका व्यक्तिहरुको उर्जाशिल अवसर आवश्यकता रहेको बताउँदै यसका लागि सञ्चार क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण हुने जनाएको छ ।
बिहीबार पत्रकार महासंघ रुपन्देहीको समन्वयमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्दै संस्थाले सो कुरा बताएको हो ।
रोजगारविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा परियोजनाको परिचय,उद्देश्य र उपलब्धीहरु सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिहरुको अवसर र प्रोत्साहनका लागि सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको भन्दै सहकार्य गर्न सञ्चारकर्मीहरुसँग आग्रह गरेको छ ।देशका ५ औद्योगिक शहरबाट अपाङ्गताका क्षेत्रमा काम गर्दै आएको परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान,वर्गिकरण,प्रशीक्षण र व्यवस्थापन गर्दै आएको जनाएको छ ।
परियोजनाले लक्षित जिल्लामा रहेका अपाङ्गहरुको पहिचान र वर्गिकरण गरी उनीहरुको अवसरका लागि रोजगारदातासँग सहकार्य गर्दै आएको परियोजनाका बुटवल क्लस्टर म्यानेजर राम दयाल यादवले बताए । कार्यक्रममा परियोजनाका राष्ट्रिय निर्देशक शोभाखर कंडेलले परियोजनाले हालसम्म १० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर तथा रोजगार व्यवस्थापन गरेको बताए ।
त्यसैगरी परियोजनाका व्यवसाय वित्त अधिकारी ढाकाराम अधिकारीले अपाङ्गताप्रति सकारात्मक सोँचको विकास, औपचारिक तथा स्वरोजगार जस्ता विषयमा परियोजना केन्द्रित रहेको बताउँदै अपाङ्गता साझा सवाल हुनाले सञ्चारकर्मीहरु र परियोजनाको सहकार्य आवश्यक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले शारीरिक रुपमा कमजोर भएता पनि उल्लेख्य सक्रियता र सफलता हासिल गरेको बताउँदै रुपन्देहीका सञ्चारकर्मीहरुले उनीहरुका विषयमा कलम चलाउँदै आएको बताए । फाउण्ड परियोजनाले रुपन्देहीमा अपाङ्गता भएका हजार बढीको पहिचान गरी ६ सय बढीलाई वार्षिक रोजगारको व्यवस्था गरेको जनाएको छ ।
परियोजनाकी रोजगार परामर्श दाता राधा भट्टराईले कार्यक्रमको सञ्चालन तथा सहजीकरण गरेकी थिइन् । रुपन्देहीका ४० बढी सञ्चारकर्मीको सहभागिता रहेको थियोे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)