बुटवल, २७ असोज ।
लुम्बिनी प्रदेशका किसानहरुले भारतबाट अवैध च्याउ आयातमा रोक लगाउन र प्रदेशमा नै व्यवस्थित च्याउको ट्स्यु कल्चर र मदर कल्चर सहितको प्रयोगशाला स्थापना गर्न माग गरेका छन ।
कृषि विकास निर्देशनालय बुटवलद्धारा आयोजना गरिएका ‘बाली विशेष (च्याउ उत्पादक व्यवसायी) सञ्जालबीचको अन्तरक्रीया गोष्ठीमा भन्दै प्रदेशका किसानहरुले उक्त माग गरेका हुन ।
कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले व्यवस्थित च्याउको विउ उत्पादन गर्ने प्रदेश स्तरिय प्रयोगशाला स्थापना गर्नको लागि पहल गर्ने जानकारी दिनुभयो ।
उहाँले किसानहरुको समस्या समाधानको लागि आफु जहिले पनि तयार रहेको भन्दै यसमा किसानहरु संग सहकार्य गरिने बताउनुभयो ।
मन्त्री पौडेलले विना धितो १० लाख र महिला उद्यमीको लागि १५ लाख सम्मको विना धितो ऋण प्रदान गर्ने गरी तयारी गरिएको समेत बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ आतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले किसानहरुको समस्या समाधानको लागि प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताउनभयो ।
उहाँले विगतमा सरकारले गरेको काम पनि सन्तोष जनक रहेको भन्दै विगतलाई मुल्यांकन गर्दै आगामी कार्यक्रम बनाउने र कार्यन्वयन गर्ने बताउनुभयो । मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. बुद्धिराज घिमिरेले किसानहरुको समस्या समाधानको लागि किसानहरुबाट कुराहरु आउनुपर्ने र सोही अनुसार मन्त्रालय, निर्देशनालय सबै तयार रहेको बताउनुभयो । 
कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले उत्पादनमा आधारित अनुदानको व्यवस्थापन मन्त्रालयबाट भैसकेको जानकारी दिदै केन्द्रमा निर्माणाधीन अवस्थामा रहेको च्याउ नीति प्रदेशमा पनि कार्यान्वयन गरिने समेत बताउनुभयो भयो ।
कार्यक्रममा बोल्दै च्याउ उत्पादक संघ केन्द्रीय उपाध्यक्ष तथा च्याउ उत्पादक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केवल प्रसाद शर्माले भारतबाट आयात हुने अवैध विषादीयुद्ध च्याउ नियन्त्रणमा सरकारले विशेष ठोस कदम चाल्नुपर्ने बताउनुभयो । भारतीय अवैध च्याउको आयातमा पुर्णरुपामा रोक लगाएमा मात्रै नेपाली किसानहरु बलियो हुने उहाँको भनाई छ ।
यस्तै च्याउ उत्पादक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा केन्द्रीय सदस्य गंगाधर शर्माले उत्पादनमा आधारीत अनुदान निती नभए सम्म किसानहरु जहिले पनि मर्कामा पर्ने गरेको बताउनुभयो । कार्यक्रममा कृषि विकास निर्देशनालयका बरिष्ठ बालि संरक्षण अधिकृत कामना अधिकारी र च्याउ किसान गंगाधर शर्माले कार्यपत्र प्रस्तुतगर्नुभएको थियो ।
कार्यक्रममा च्याउ विज्ञ शिव प्रसाद चौधरी, सवल च्याउ उत्पादक समुहका अध्यक्ष कृष्ण प्रसाद पोखरेल, निर्देशनालयका अधिकृत सुनैना बराली लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)