Logo बिहिवार, आश्विन १ गते २०८३
images

१५ बर्षदेखि बन्द र जीर्ण अवस्थामा रन्थनिएको बुटवल धागोले पुर्नजीवन पाउला ?

१५ बर्षदेखि बन्द र जीर्ण अवस्थामा रन्थनिएको बुटवल धागोले पुर्नजीवन पाउला ?

  • 1.5K
    SHARES

  • १५ बर्षदेखि बन्द र जीर्ण अवस्थामा रन्थनिएको बुटवल धागोले पुर्नजीवन पाउला ?

    बुटवल, माघ २९ ।

    बुटवलको राजमार्ग चौराहाबाट साढे २ किलोमिटर पुर्व लागेपछि बडेमानको भवनसंगै गेट देखिन्छ । मुख्य राजमार्गको छेउमै रहेको गेटमा प्रहरीको सुरक्षा कडा छ । भित्र जान सहजै दिइदैन,सोधपुछ र नामदर्ता गरेपछि भित्र प्रवेश अनुमति मिल्छ ।

    गेटबाट भित्र पाइला अघि बढेपछि मनमा प्रश्न उठ्छ की भित्र कारखानामा त धमाधम काम भैरहेको होला,सयौंं कामदार काममा ब्यस्त होलान्,धमाधम उत्पादन,प्याकेजिङ,बेण्डिङ,ब्राण्डिङख चलिरहकै हुनुपर्छ । कारखानाकै भवनमा कोरोनाकालमा बुटवल कोरोना बिशेष अस्पताल समेत संचालन भयो भने अहिलेपनि सोहि परिषरमा दङ्गा नियन्त्रण गणको कार्यालय समेत छ ।
    तर बिडम्बना बाहिरको सुरक्षा र भित्रको हालत देख्दा मन अमिलो हुन्छ, ठूलाठूला मेसिनमा माकुराको जालो ,फोहोर उस्तै, त्यसमाथि डरलाग्दो अध्यांरो । बुटवलसंग पहिचान जोडिएको नेपालमै इतिहास बुटवल धागो कारखानाको हालत यस्तो छ । 
    नेपालगञ्जको खजुरामा कपास उत्पादन गरेर बुटवलमा धागो बनाउने अनि हेटौडामा कपडा उत्पादन गरी बजारमा पठाउने उद्धेश्य बोकेर बुटवलमा बिस २०३९ सालमा बुटवल धागो कारखाना स्थापना भएको हो ।

    बिस २०६४ देखि उत्पादन र २०६६ सालदेखि बुटवल धागो पूर्णरुपमा नै बन्द छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यहि कारखाना उपयुक्त मोडलमा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले बजेटमार्फत् कारखाना उपयुक्त मोडलमा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेपछि रुपन्देहीका उद्योगी ब्यवसायी तथा सरोकारवालाको चासो धागो कारखानाले तानेको हो ।

    तर यसअघि पटक–पटक आइरहेका बजेटमा पनि कारखाना चलाउने घोषणा गरेका सबैजसो सरकार कारखाना चलाउन असफल हुँदै आएका छन् ।तत्कालिन राजा वीरेन्द्र शाहको अवधारणा अनुसार मुलकलाई आत्मनिर्भर बनाउन यो उद्योग स्थापना गरिएको हो ।  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको १ सय ७३ रोपनी क्षेत्रफलमा बुटवल धागो कारखाना फैलिएको छ । 

    कम्पनीको अधिकृत पूंजी ६० करोड,जारी ४५ करोड र चुक्तापूजी साढे ३७ करोड रहेको धागो कारखानाका निमित्त महाप्रवन्धक (प्राविधिक अधिकृत) डोलराज शर्माले बताउनुभयो । अब कारखाना संचालनमा ल्याउन कम्तीमा पनि ६० करोड लाग्ने अनुमान उहाको छ । 
    शर्माले  भन्नुभयो –‘बजेटमा आउनु सकारात्मक छ,तर यहि अवस्थामा संचालनको संभावना छैन,मेसिनहरुलाइ अपग्रेड गर्नुपर्छ,उत्पादन बढाउने किसिमले अघि बढ्नुपर्छ ।’उहाले आफुहरुलाइ यसबारेमा अहिलेसम्म कुनै परिपत्र नआएको बताउनुभयो । कुनैबेला ६ सय कर्मचारी प्रत्यक्ष कार्यरत रहेको कारखानामा अहिले बुटवलमा ४ जना र काठमाडौंमा सम्पर्कका लागि १ जना गरि ५ जना कर्मचारी कार्यरत रहेका छन् ।Butwal_Dhago.jpg

    कर्मचारीको रोजगारी खोसिएपछि बिदा गर्न ४७ करोड २२ लाख खर्च :

    कुनैबेला बुटवल धागो कारखाना भनेपछि बुटवलको मात्रै हैन, देशकै सान र पहिचानका रुपमा रहेको कारखानाको अबस्था अहिले अत्यन्तै दयनिय ,कहालीलाग्दो र दुराबस्था छ  ।कुनैबेला यहा प्रत्यक्ष अप्रत्यक्ष गरेर सयौंले रोजगारी पांउथे,बुटवलको बिकासमा यो कोशेढुंगा नै मानिन्थ्यो । उद्योग बन्द भएपछि ४१६ कर्मचारीलाई तत्काल विदा गरिएको थियो । त्यसका लागि ४७ करोड २२ लाख ४५ हजार रुपैयाँ खर्चिएको थियो । 

    बन्द हुदै खुल्दै भएपनि यस्ले बिस २०६४ सालसम्म त केहि उत्पादन दिन्थ्यो । केहिसमय राजनीतिक हस्तक्षेपले व्यवस्थापन विग्रदै गएपछि दलीय खिचातानी मात्रै भएन कर्मचारी वीच नै हानथाप पनि भयो । कारखानाले शुरुवातमा दैनिक १० टनसम्म धागो उत्पादन गर्दथ्यो भने पछि ७ टनसम्म धागो उत्पादन गरेको थियो ।

    आखिर यो क्रमले बुटवल धागो  अन्ततः  २०६४ साल फागुनमा चुडिन पुग्यो अर्थात् बन्द नै भयो । बिस २०६६ सालमा सरकार आफैले कारखाना निरन्तर घाटामा गएको  कारण बन्द भएको घोषणा गर्यो ।

    धागोमा लगानी कस्को र कति ? :

    बुटवल धागो कारखानामा नेपाल सरकारको ५९.७५ प्रतिशत,सर्वसाधारणको ८.३१ र जनकपुर चुरोट कारखानाको ७.८७ प्रतिशत र खेतान समूह, साल्ट ट्रेडिङ कर्पोरेशन , हिमाल सिमेन्ट  लगायतको सेयर लगानी छ । कारखाना लिमिटेडको कुल सम्पत्ति तत्कालिन अबस्थामा करिब १० करोडको मुल्यांकन गरिएको छ ।सरकारको मुख्य लगानी भनिए पनि कारखानामा रुपन्देहीका झण्डै ७ सय जनाको पनि लगानी रहेको छ । ४४ -४५ साल तिर कारखाना  निकै मुनाफामा जांदा बुटवल तथा भैरहवा  व्यापारीहरुले खुसीका साथमा सेयरमा लगानी गरेका थिए ।

    कार्यालयको तथ्यांक अनुसार रुपन्देहीका  ६ सय ९३ जना सर्वसाधारणको समेत त्यहा सेयर छ । कारखानामा ४ हजार ६ सय ३० जनाको शेयर छ । त्यतिबेला शेयर राखेर मख्ख परेका ब्यबसायी तथा सरोकारवालालाइ अहिले त्यतातिर खासै चासो पनि देखिदैन,बजेटका बेला बर्षमा एकपटक चर्चा भने हुनेगरेको छ ।

    बुटवल धागो कारखाना संचालन गर्ने सरकारी निणर्यलाई बुटवलमा रहेका उद्योग तथा व्यापारीक क्षेत्रमा क्रियासील संघ संस्थाहरुले भने कार्यान्ययन र सरकारले नीजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न सुझाब पेश गर्छन् ।


    नीजिकरण गरेर चलाउने सरकारको निर्णय कागजमा मात्रै ?

    बन्द  बुटवल धागो कारखाना पुनःसंचालन गर्ने२०७४ मा पनि सरकारले निर्णय गरेका थियो । यस्का लागि सरकारले बैशाख १७ गते राजपत्रमा सूचना प्रकाशित गर्यो । बुटवल धागो र वीरगञ्ज चिनी कारखानालाई निजीकरण गर्दै भाडा चलाउन दिन २०७४ बैशाख १३ गते निर्णय भएको हो ।

    मन्त्रिपरिषदले यी दुई उद्योगहरु निजी क्षेत्रलाई भाडा दिएर चलाउने निर्णय गरेको हो । निर्णयपछि बुटवलक्षेत्रका उद्योगी व्यावसायीहरुले धेरै सम्बाद र छलफल पनि चलाए । कुन अबधारणाबाट धागो चलाउने निकै छलफलहरु आयोजना पनि गरिए ।तर अहिले पनि धागो जीर्ण नै छ  र बिकल्प खोजिरहेकै छ ।
    अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि यसलाइ चलाउने मनसाय देखाएपनि यसक्षेत्रमा सरकारवालाले पत्याएका छैनन् ।

    गेटमा कडा सुरक्षा भित्र बिजोग :

    यहा सबै सुरक्षाको  जिम्मा प्रहरीकै छ । गेटमा  प्रहरी नबस्दा सम्म १६ जना कर्मचारी थिए ।उनीहरुकै मुख्य काम नै सुरक्षा  हो  । गेटबाट भित्र जान जो कोहि पाउंदैन । नाम लेखेर सोधेर पछि बल्ल प्रहरीले पास दिएपछि भित्र जान सकिन्छ । धागो कारखानामा प्रहरीको दङ्गा नियन्त्रण गण बसेको छ । सो गणमा ६ सयकोे दरवन्दी छ ।  एसपीको कमान्डमा रहेको गणले धागो कारखानाको सुरक्षा राम्रो संग गरेको छ। 
    कारखाना भित्र अहिले प्रशासन चलेको छ ,अरु सबै काम बन्द छ । पुराना मेसिनको बिजोग छ । सबै मेसिन ध्वस्त बनेका छन् । माकुराको जालै जालोले बेरिएको छ । बिजुली लाइन छैन र पानीको ब्यबस्था समेत सहज छैन । सरकारी र नीजी प्लेटका कैंयौ साना ठूला सवारी बेहाल अबस्थामा झुत्रिएका छन् ।भित्र पुरै अध्यारोले कालो सुरुङ पसेजस्तो अनुभूति हुन्छ ।

    नीजि क्षेत्र उत्साहित,स्पष्ट मोडालिटीको माग :

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले निजी क्षेत्रलाई सञ्चालनको जिम्मा लगाए कारखाना सञ्चालन हुनसक्ने भए पनि विवादरहित भने हुन नसक्ने बताउनुभयो ।

    उहाले धागो कारखानाको स्थानमा अन्य उद्योग चलाउन सरकारलाई सुझाव दिनुभयो । पुरामै मोडालिटीमा कारखाना सञ्चालन गर्न नसकिने बताउनुहुन्छ । रुपन्देही उद्योग संघका माधव पौडेलले नयाँ उद्योगको रुपमा कारखाना चलाउनुपर्ने बताउनुभयो ।

    रुपन्देहीको मात्रै नभएर देशकै नाम चलेको कारखाना संचालन हुने हो भने सयौंले रोजगारी पाउने र आर्थिक समृद्धिको बाटो खुल्ने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलको भनाइ छ ।तर यसका लागि काराखानाको नयां मापदण्ड र मोडल तयार गरेर गएमा मात्रै सम्भव हुने उहाको सुझाव छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology