बुटवल,माघ २८।
गण्डकी प्रदेश सरकारले रगत नि:शुल्क गराएको छ । रगतका लागि अब कसैले पनि रकम तिर्नु पर्दैन ।
रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सरकारले नै व्यहोरिदिने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए ।
कांग्रेस नेतृत्वको सरकारले फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय गरेको प्रवक्ता खड्काको भनाइ छ । रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग अब सम्झौता हुनेछ । सम्झौतापछि सरकारको निर्णय कार्यान्वयन हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ गत सोमबारको मन्त्रिपरिषदबाट पारित भएको थियो ।
कार्यविधिमा रगत तथा रगतजन्य सेवा प्रदान गर्ने संस्थाले अस्पतालमा उपचाररत व्यक्तिलाई आवश्यक पर्ने रगत, रगत राख्ने झोला, रगत परीक्षण निःशुल्क रुपमा गर्नुपर्ने उल्लेख गरिएको छ ।
साथै उपलब्ध गराइएको सेवा शुल्क भुक्तानीका लागि मासिक रुपमा जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समिति मार्फत अस्पताल समक्ष बिल भरपाई पेश गर्ने पनि उल्लेख गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)