बुटवल,माघ २३ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी सम्झौतालाई तत्काल संसदमा पेश गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले एमसीसीमाथि संसदमा छलफल गर्नुपर्ने बताएका हुन् ।
ज्ञवालीले संसदमा छलफलमा ल्याउनका लागि सभामुखले बाटो छेक्न नहुने बताए । उनले भने, ‘सदनले नै पास वा फेल गर्नेछ । सभामुखले सदनमा ल्याउन ढोका बन्द गर्नु हुदैन ।’ ज्ञवालीले सदनमा एमसीसीले प्रवेशपाएपछि मात्र एमालेले आफ्ने धारणा दिने जनाए ।
एमसीसीलाई गिजोल्ने काम गठबन्धनका नेताहरुले गरेको आरोप लगाउँदै उनले देशभित्र एक थरी र अमेरिकासँग एकथरी कुरा गर्ने दोहोरो चरित्र उनीहरुले देखाएको आरोप लगाए । ‘५ महिनाभित्र पास गर्ने भनेर पत्र लेख्ने तर अहिले संसोधन गरेर मात्र पास हुन्छ भन्ने दोहोरो चरित्र सरकार र गठबन्धनका नेताहरुले देखाएका छन्’, ज्ञवालीले भने, ‘एमसीसी सम्झौता गर्दा देउवा नै प्रधानमन्त्री थिए । माओवादीका नेताको दोहोरो चरित्रले त्यो बेला पास भएन । अहिले यो गठबन्धको जिम्मेवारी हो । बहुमत उहाहरुसँग छ । संसदमा ल्याएर छलफल गरेर टुंगो लगाउनुपर्छ ।’
एमाले उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर्न माग गरे । उनले भने, कुनै बहानाबाजी नगरी अलमल नगरी मिति घोषणा गर्नुस । अन्यथा लोकतन्त्र धरापमा जान्छ । बाहानाबाजी एमालेलाई मान्य छैन ।’
कोभिड महामारीको अवस्थामा समेत २४ लाख डोज कोरोना खोप हराउँदा पनि सरकारलाई कुनै मतलब नभएको बताए ।ज्ञवालीले सरकारले जनतालाई न्यूनतम सुविधा दिन नसकेको आरोप लगाए । अर्थतन्त्र धरासायी बनाएको, तरलताको अभाव भुक्तानी सन्तुलनमा फरक परेको आरोप पनि उनले लगाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)