बुटवल,माघ २१।
लुम्बिनी प्रदेश सभाले चौथो स्थापना दिवस मनाएको छ । एक संक्षिप्त सेमी-भर्चुअल रुपमै कार्यक्रम गरि दिवस मनाइएको हो । दिवसलाई औपचारिक बनाइएपनि कार्यक्रम निकै फितलो देखिन्थ्यो ।
अधिकांश सहभागिहरु जुममार्फत् जोडिएपनि कार्यक्रमप्रति कसैको ध्यान केन्द्रित देखिएन । जुममा रहेका सहभागिहरु मन्त्री, सांसददेखि उच्च प्रहरी अधिकारीहरु आफ्नै तालमा देखिन्थे । उनीहरुले गरेका हाँसाे मजाक पनि लाइभमै सुनिएको थियो ।
प्रदेशसभा सचिवालयमा औपचारिक कार्यक्रम गरिएको हाे । उनीहरुले आफ्ना फोन धमाधम उठाइरहेका थिए । कार्यक्रम समयमै शुरु नभएपछि उनीहरुले आफ्ना अनौपचारिक गन्धन समेत जुममै गरेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचन,सभामुख पूर्णबहादुर घर्ती, मुख्यमन्त्री कुलप्रसाद केसी,सरकारका प्रबक्ता तथा मन्त्री तिलकराम शर्मा अन्य मन्त्री तथा सत्ता र प्रमुख प्रतिपक्षि दलका नेता-सांसदहरु लगायत सराेकारवालाहरु सहभागि थिए ।
भर्खरै मात्रै औपचारिक कार्यक्रम शुरु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले ब्यानर बाचन गरेर कार्यक्रमको शुभारम्भ गरे । तर प्राबिधिक पक्ष भने निकै कमजाेर देखिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख शेरचनले ब्यानर बाचन गरेको समेत कसैले सुन्न सकेनन् । 
लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएका छन् ।
दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट तीन विधेयक फिर्ता भएका छन् । राष्ट्रिय राजनीति विभाजित भएपछि लुम्बिनी प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष असर परेको छ । गठबन्धन सरकार निर्माणपछि लगातार प्रदेशसभा अवरुद्ध छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)