काठमाडौं,माघ १६ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । आइतबार शहीद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए ।
शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
उनले शहीदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताए । प्रधानमन्त्री देउवाले शहीदहरुले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहीदहरुको परिकल्पना अनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘शहीदहरुको बलिदान र आहूतिबाट नै आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणाली स्थापित हुन सकेको छ । जनतामा राजनैतिक, सामाजिक चेतनाहरु फैलाउन तथा नागरिकहरुलाई आफ्नो हक अधिकारप्रति सचेत बनाइ मुलुकको अन्याय, अत्याचार र स्वेच्छाचारी शासनलाई उन्मुलन गर्ने शहीदहरुको उच्च योगदानप्रति हामी सबै नेपालीहरु नतमस्तक छौँ ।
निःस्वार्थ रुपमा देशको हित, समुन्नतिको लागि जीवन समर्पण गर्ने शहीदहरुले देखेको सपनालाई साकार तुल्याउन आज हामी सबै आफ्नो क्षेत्रबाट प्रतिबद्ध भई लाग्नुपर्ने खाँचो छ ।’
प्रधानमन्त्री देउवाले भने, ‘शहिदले परिकल्पना गरेअनुसार सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता तथा आर्थिक, सामाजिक अधिकार प्रयोग गर्न सक्ने सम्मको मुलुक निर्माण गर्ने राष्ट्रको दायित्व हो ।
शहिदको योगदानलाई चिरस्थायी बनाउन नेपाल सरकारले शहिदहरुको नाममा विभिन्न मार्ग प्रस्थानको नामकरण गर्ने, पुस्तकालय स्थापना गर्ने, शहिदहरुको जीवनीसँग सम्बन्धित कुराहरुलाई प्रकाशन गर्ने, युवा पुस्तालाई जागरुक बनाउने, शहिदका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका कामहरु गर्दै आइरहेको छ ।
यस्ता कामहरूलाई राजनीति वृत्तमा थप बिस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिनेछ । मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)