बुटवल,माघ १५ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन् ।
विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन् । ‘अब विमानस्थल सञ्चालनमा कुनै विलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगावै नै विमानस्थल सञ्चालनमा ल्याइने छ’ उनले भने ।
निर्माण सुरु भएको सात वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ । विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको छ । विमानस्थल निरीक्षणका क्रममा मन्त्री आलेसहित मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, उपनिर्देशक लगायतको टोली आएको थियो ।
उनले बुद्ध जयन्ती अगाडि नै विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिए । ‘म यहीँबाट निर्देशन दिन्छु, विमानस्थल शीघ्र सञ्चालनमा आओस्, बुद्ध जयन्ती अगाडि नै नागरिकले विमानस्थल सञ्चालनमा आएको देख्न पाउन्’ मन्त्री आलेले भने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल विद्यमान रहेको एयर ट्राफिकको समस्या समाधान हुने पनि उनको दाबी छ ।
विमानस्थल निरीक्षणपछि प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले आगामी फागुन ९ गते परीक्षण उडानको कार्यतालिका बनाइएको जानकारी दिए । ‘मौसमले साथ दिएमा आउँदो फागुन ९ गते थाइल्याण्डदेखि नेपालमा विमान अवतरण हुनेगरी कार्यतालिका बनाइएको छ’ उनले भने । ठाकुरले आउँदो बुद्ध जयन्तीका दिन चार्टड विमानमा लुम्बिनीमा पाहुना ल्याउने गरी विमानस्थल सञ्चालनको योजना बनाइएको पनि बताए ।
परीक्षण उडानका लागि विमानसहित मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य भइरहेको बताएका थिए ।
विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी टु को ठेक्का थाइल्याण्डको एरो थाइ कम्पनीले लिएको छ । आइसिबी टु अन्तर्गत मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने संयन्त्रको निर्माण पर्छ । परीक्षण उडानको तयारीस्वरुप थाइल्याण्डबाट चार जना प्राविधिकको टोली भैरहवा आइपुगेको छ ।
अहिले ग्राउण्ड टेस्टको काम सुरु भएको छ । फागुनमा परीक्षण उडानको लागि जहाज आउने विमानस्थल निर्माण आयोजना आइसिबी टु का प्रमुख तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले बताए ।
एसियाली विकास बैंक एडिबी को ऋण सहयोगमा निर्माण भएको विमानस्थल निर्माण कार्य चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैया मा ठेक्का लिएको थियो । एसियाली विकास बैंक एडीबी ले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको थियो । त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्ययन प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ । विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि वार्षिक ६० लाख यात्रु विश्व शान्तिको मुहान लुम्बिनीमा झर्नेछन् ।
त्यस्तै विमानस्थल सञ्चालनपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउँदा अन्य देशका विमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता हट्ने छ । कूल ७८७ बिघा क्षेत्रफलमा बनेको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो छ । जहाँ तीन किलोमिटर लामो धावनमार्ग बनेको छ । विमानस्थलमा बोइङ ७७७-२००, एयरबस ३३०-३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय यात्रु कक्षलाई १५ हजार स्क्वायरको छ ।
१६० वटा ट्याक्सी तथा सवारी साधन अटाउने कार पार्किङस्थल बनेको छ । ट्याक्सी वे को लम्बाइ एक हजार १०० मिटर लामो र २३ मिटर चौडाइको छ । आन्तरिक ‘एप्रोन’मा थप ४ वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीका जहाज पार्किङ गर्न मिल्ने छ । अन्तर्राष्ट्रिय एप्रोन ५७ हजार ‘स्क्वायर’ मिटरको छ । विमानस्थल सञ्चालनमा आएपछि वार्षिक करीब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बीलाई लुम्बिनी भित्रिने सरकारी अपेक्षा छ ।
विमानस्थलमा उडानका लागि अहिलेसम्म ‘रुट’ परमिट पाइसकेको छैन । विमानस्थल भारतसँगको सीमानाभन्दा झण्डै ३ किलोमिटर भित्र छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमान अवतरण गर्ने क्रममा केही भाग भारतलाई छुने भएकाले भारतसँग कुरा भइरहेको बताए ।
साढे २२ सयभन्दा बढी घरधुरीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर विमानस्थल परियोजना शुरू भएको थियो । विमानस्थल निर्माणका लागि करीब २३ अर्ब रकम मुआब्जा वितरण गरिएको थियो । दैनिक आन्तरिक उडानबाट एक लाख २० हजार र अन्तर्राष्ट्रिय उडानबाट २० हजार नागरिकले सो विमानस्थल प्रयोग अपेक्षा छ ।एयरपोर्टबाट सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य छ ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)