बुटवल,माघ १२ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । गठबन्धनका ३ जना उम्मेदवार नै बिजयी भएका हुन् ।
गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक बिजयी भएका छन् ।
अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ।
त्यस्तै नेकपा एमालेबाट रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिक पराजित भए । 
राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।
निर्वाचित बनेका विष्टले तीन हजार ६, गुरुङले २ हजार ९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार प्राप्त गरेका छन् । यस्तै पराजित बनेका एमालेका गंगा थापा महतले १ एक हजार ४१६ पदमबहादुर माझीले १ हजार ३९८ र चूडामणि शर्माले १४१६ मत मात्र प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले जानकारी दिए।
बुधबार बिहान नौ बजेदेखि प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगरमा भएको मतदान दिउसो ३ बजे सकिएको थियो । मतदान गर्ने ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाको मत खसेको थियो ।
मतदान नगर्नेमा प्रदेशसभा सदस्य तथा राप्रपा नेतृ सोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली रहेकी छन् ।
गण्डकी प्रदेशमा महिला कोटाबाट नेपाली कांग्रेसकी कमला पन्त विजयी भएकी छिन् । उनले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन् ।
पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेद्वार बनेकी हुन् । पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार पाइन् । गठबन्धनबाट सात मत क्रस भएको छ ।
प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छोडेका थिए । पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन् ।
स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत पाइन् ।
दलित कोटा पनि गठबन्धनले जितेको छ । गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् ।
सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए । यो क्लष्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली छ ।
मधेश प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी विजयी भएका छन् । उनी ६ हजार ६७८ मतभारसहित विजयी भएका हुन् । जनता समाजवादी पार्टीबाट उनले उम्मेदवारी दिएका थिए ।
यो पदमा उम्मेदवारी दिएका उस्मान अन्सारीले दुई हजार ७६६ मतभार पाएका छन् । मधेश प्रदेशबाट महिला समूहतर्फ नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी छन ।
यी पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)