बुटवल,माघ ९ ।
पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्य सहित बुटवलमा आइतबारदेखि दश महिने पेशागत कूक तालिम सुरू भएको छ । नेपाल सरकार र स्वीस सरकारको आर्थिक तथा देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको समन्वयमा तालिम दिन शुरु गरिएको होे ।
तालिम तथा अभिमुखीकरण कार्यक्रमको होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले शुभारम्भ गर्नु भयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको समन्वयमा यसक्षेत्रमा यति ठूलो र व्यवसायिक तालीम पहिलो पटक आयोजना गरिएको हो ।
सो अवसरमा बोल्दै यस क्षेत्रमा होटल रेष्टुरेन्टहरुमा दक्ष कामदारको अभाव भएको भन्दै तालिम लिएर दक्ष भएकाहरुलाई रोजगारीको कुनै अभाव नहुने बताए । बुटवल तथा यस आसपासको क्षेत्र पर्यटनको ‘हव’ को रूपमा विकास भएको भन्दै स्तरीय र सुविधासम्पन्न होटलमा काम गर्न तालिम अपरिहार्य रहेको बताएका छन ।
१ हजार ६९६ घण्टे तालीममा ४० जना युवा युवतीको सहभागी रहेको छ । तालिम सिटिइभिटीको पाठ्यक्रम अनुसार पढाउने-सिकाइने छ । तालिम प्रदायक संस्था देउराली जनता प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक लक्ष्मण रानाले तालिमले कामदारको रोजगार क्षमतामा धेरै सुधार ल्याउने र व्ष्यवसाय गर्न चाहनेहरुलाई निकै फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले पछिल्लो समयमा होटल तथा पर्यटन क्षेत्रमा लगानी बढदै गरेकोमा दक्ष कामदारको अभाव भएकोले तालिमले सीपमूलक जनशक्ति तयार गर्न आफूहरुले प्रयास थालेको बताउनुभयो ।
उहांले यो तालिमको सफलता संगै यस्ता तालिम संघले निरन्तर चलाउँदै जाने बताउनु भयो । संघको कार्यालयको तल्लो तलालाई अब तालिम हलको रुपमा विकास गर्ने संघका सचिव तथा तालिम संयोजक अर्जुन थापले बताउनुभयो ।
तालिम पूर्ण रुपमा निःशुल्क रहेको छ । सार्वजनिक सूचना प्रकाशित गरी सहभागी छनौट गरिएको संघका महासचिव माधव कुमार खनालले बताउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)