बुटवल,माघ २ ।
सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
हवाई यात्रा गर्दा यात्रुले फेरि अनिवार्य रुपमा फेससिल्ड लगाउनु पर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रालाई सुरक्षित बनाउन यस्तो निर्णय गरेको हो ।
हवाईजहाजमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेससिल्ड अनिवार्य गर्ने निर्णय भएको हो । हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था समेत हवाई कम्पनीले मिलाउनु पर्नेछ ।
वायुसेवा कम्पनीले हरेक उडानपछि हवाई जहाज र ब्यागेजलाई निसंक्रमित गराउनु पर्ने समेत निर्णयमा उल्लेख छ । चेकइन, बोर्डिङ क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागु गर्ने निर्णय समेत भएको छ ।
सम्बन्धित वायुसेवा सञ्चालकको खर्चमा यात्रुको एन्टिजेट परीक्षण गरी रिर्पोट नेगेटिभ आएमा मात्र यात्रा गराउने निर्णय समेत सरकारले गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)