बुटवल,असोज २३ ।
२६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाइ दबाद दिन र जीवन रक्षाको माग गर्दै बुटवलमा ऐक्यबद्धतासभा सम्पन्न भएको छ ।
नेपाल बार एशोसिएसन उच्च अदालत बुटवलको आयोजनामा जेसिस चोकमा ऐक्यबद्धता सभाको आयोजना गरिएको हो ।सो अबसरमा बोल्दै अध्यक्ष जोगबहादुर खत्री बिक्रमले चिकित्साक्षेत्रमा भैरहेको बिकृती अन्त्यका लागि उठाएका मागहरु समयसापेक्ष र जनताका पक्षमा रहेकोे बताए ।
उनले राज्य गोबिन्द केसीसंग डराएर भाग्न खोजेको समेत बताए । कार्यक्रममा बारका सचिब गोबिन्द प्रसाद मरासिनीले सत्याग्रही डा केसीको माग सम्बोधन नगरे सरकारलाइ महंगो पर्ने चेतावनी दिए ।
कार्यक्रममा ३ मिनेटसम्म केसीको पक्षमा मौन समर्थन समेत गरिएको थियो ।डा केसीले ५ बुदे माग राख्दै आमरण अनसन थालेका थिए ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने,राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्न माग गरेका छन् ।
यी प्रकरणका दोषीलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएको भन्दै केसीले अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गर्न माग गरेका छन् ।
अख्तियारका आयुक्त र अन्य भ्रष्टाचार काण्डमा मुछिएकाहरुमाथि सम्पत्ति शुद्धिकरणको छानबिन गर्न पनि केसीको माग छ ।
डा. केसीकाे कुनैपनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम !
१९ औं पटक अनसनमा रहेका डा. केसीको मुटुको चाल तलमाथि हुने, धड्कन बढ्ने छाती दुख्ने यही क्रम जारी रहेको खण्डमा कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
कुनै पनि बेला डा. केसीको इच्छाविपरीत औषधी दिनुपर्ने अवस्था आउने भएका कारण उनलाई सामान्य सलाइन दिएर नशा खोलिएको भन्दै केसीको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले स्वास्थ्य बुलेटिन जारी गरेका छन्।उनलाई छाती दुख्ने, थकान हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने समस्या छ। उनको दायाँ छातीमा निमोनियाको लक्षण देखिएको बुलेटिनमा उल्लेख गरिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)