बुटवल,पुस १९ ।
सत्ता गठबन्धनले आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि भागबन्डा मिलाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारीको बाँडफाँट गरेका हुन्।
यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरेका हुन्। राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ८ वटा थप सिटमा सत्तागठबन्धनका पाँच दलबीच भागबन्डा भएको छ।
‘ज–जसले पहिले जितेका थिए। त्यहाँ ती दलहरुको नै हुने भयो,’ उनले भनिन्,‘थपिएका ८ वटामा बाँडफाँट गरिएको छ।’
उनका अनुसार नेपाली कांग्रेसलाई ३, नेकपा माओवादी केन्द्रलाई १, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई १ सिट भागबन्डा गरिएको छ।
राष्ट्रिय सभामा रिक्त १९ पदमा निर्वाचन हुँदैछ।
गठबन्धन दलका अनुसार प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल, प्रदेश २ मा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी, गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लुम्बिनीमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा, कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी, सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भागबन्डा गरेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)