बुटवल,असाेज २१-
बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा दाङकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-८ की ७१ वर्षीय महिलाको मृत्यु भएको हो ।
अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गरी अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा उनको मृत्यु भएको पुष्टि गरेको छ । असोज १७ गते कोरोना पोजेटिभ पुष्टि भएकी ती महिला होम आइसोलेसनमा बसेकी र स्वास्थ्यमा समस्या आएपछि मंगलबार दिउँसो ४ बजे अस्पताल भर्ना भएकी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
महिलामा श्वासप्रश्वास समस्या हुनुका साथै उच्च ज्वरो आएको थियो । यसअघि बुटवल धागाे कारखानामा रहेकाे बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको थियाे । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
मृतकहरुमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो ।स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज १५ गते स्वाब पठाई १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको गएराती १२:५० बजे मृत्यु भएको हो ।
असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको गौतमले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)