बुटवल,मंसिर १० ।
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू भएको छ। उद्घाटन अघिनै नारायणी नदी किनार भरिभराउ भएको छ ।
आज बिहानैदेखि सडकमा अन्य सवारी साधन कम चलेका छन्। महाधिवेशनमा भाग लिन आउनेहरूको सवारी साधन मात्रै सडकमा देखिएको छ।
आज मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनअघि चितवनका विभिन्न ठाउँबाट र्याली उद्घाटनस्थलतर्फ बढिरहेको छ। एमालेका सबै शीर्ष नेताहरू चितवनमा छन्।
उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने टुंगो लागेको छ ।
उदघाटन समारोहमा अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना मन्तव्य राख्नेछन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्ने टुंगो लागेको छ।
एमालेबाट अलग भएर छुट्टै पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका नेताहरुलाई भने एमालेले महाधिवेशनमा निम्तो दिएको छैन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)