बुटवल,मंसिर २ ।
नेपाल बैंक लिमिटेडको प्रादेशिक कार्यालयले मानवसेवा आश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ । बैंकको ८५ औँ वर्ष प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई खाद्यान्न सहयोग गरिएको होे ।
कार्यक्रममा मानवसेवा आश्रमका अभिभावक लोकनाथ भुसालले आश्रमका बारेमा जानकारी गराए । उनले मानवीय सेवामा योगदान पुर्याउने बैंकको सम्पूर्ण परिवारलाई धन्यवाद दिए । बैंकको सामाजिक उत्तरदायित्व र मानवीय कार्यअन्तर्गत १० क्वीटल चामल र ५० लिटर तोरीको तेल हस्तान्तरण गरिएको हो ।
त्यस्तै नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले बेसहारा, अशक्त, असहाय, अनाथ,अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अशक्त सडक आश्रित मानवहरूलाई बैंकको तर्फबाट सहयोग गर्न पाउँदा खुसी भएको बताए । आगामी दिनहरुमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिने भुसालले प्रतिबद्धता जनाए । यस्ता सहयोगी संघसंस्थाहरु अन्य ठाउँमा पनि स्थापना हुन जरुरी रहेको उनले बताए । 
कार्यक्रममा प्रादेशिक कार्यालयमा कार्यरत प्रबन्धक सुपज ज्ञवाली, सहायक प्रबन्धक सोनम थापा,अमृत बौधाचार्य ,चिरञ्जीवी सापकोटा, र मानवसेवा आश्रमबाट चन्द्रमान श्रेष्ठ, शेरबहादुर गौतम, चिरन बराल लगायतको उपस्थिति रहेको थियो ।
१९९४ कार्तिक ३० मा स्थापना भएको नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हो । देशभर २१३ शाखासहित ७२ जिल्लामा फैलिएको बैंकका ४६ वटा एक्स्टेन्सन काउन्टर,१५० एटीएम, तथा डिजिटल प्लेटफर्म मार्फत २० लाख बढी ग्राहकलाई सेवा पुर्याइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)