बुटवल,असोज १७-
प्रदेश न. ५ मा मगर समुदायको बाहुल्यता भएकाले मगराँत प्रदेश नामाकरण गर्न तीन वटा संगठनले माग गरेको छ ।
प्रदेश सरकारले प्रदेशसभामा लुम्बिनी प्रदेशको नामाकरण प्रस्ताव पेश गरेकोमा असहमती जनाउँदै नेपाल मगर संघ, प्रदेश ५, संयुक्त मगर मञ्च र मगराँत संयुक्त संघर्ष समितले नामाकरण मगराँत कायम गर्न माग गरेको हो । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि नेपाल मगर संघका प्रदेश अध्यक्ष बिमल सारु मगरले बहुसंख्यक मगर तथा उत्पीडित समुदायको माग वेवास्ता गरेको खण्डमा सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
उनले संसदमा महेन्द्रकालीन लुम्बिनी नामाकरण गरेकोमा आपत्ति जनाउँदै त्यो आफूहरुलाई मान्य नहुने बताए । तीन वटै संगठनले प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री, प्रदेश सांसद तथा राजनैतिक दलहरुलाई मगराँत प्रदेशको नामाकरण गर्न ज्ञापनपत्र बुझाउनुका साथै ११ लाख भन्दा बढिको हस्ताक्षर समेत बुझाएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
राजनैतिक दलहरुले गरेको सहमतीको पालना गरेर मराँतहरुलाई अपनत्व हुने वातावरण मिलाउन माग संघले गरेको छ । संघ सहित तीन वटा सैगठनले आफूहरुको माग पूरा नगरेको खण्डमा अनिश्चितकालिन १२ जिल्ला बन्द गर्ने चेतावनी दिएको छ ।
शुरुवातमा शान्तिपूर्ण रुपमा आईतबार सभामुख, मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र माग सम्बोधन नभए सशक्त संघर्षमा उत्रने संयुक्त मगर मञ्च नेपाल, मगरात संयुक्त संघर्ष समितिका संयोजक समेत रहेका सारु मगरले चेतावनी दिए । मगर संघले राजधानीको बारेमा भने आफूहरुको कुनै टिप्पणी नरहेको प्रष्टाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)