बुटवल,कार्तिक २३।
नेकपा एमालेले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा यही कात्तिक २७ गते एकसाथ महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया थाल्ने भएको छ ।
एमाले जिल्ला कमिटी रुपन्देहीको मंगलबार बुटवलमा बसेको सचिवालय बैठकले जिल्लाका १६ हजार ३१० जना पार्टी सदस्यहरुको संलग्नतामा ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा दलित पार्टी सदस्यको हकमा जिल्लास्तरमा प्रतिनिधि छनौटको प्रकृया एकैसाथ अगाडि बढाउने निर्णय गरेको हो ।
सबै निर्वाचन क्षेत्रको तयारीका लागि जिल्ला सदस्यहरु र पालिका पदाधिकारी समेतको संयुक्त बैठक बसी निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन केन्द्र तोक्न समेत निर्देशन दिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले नागरिक अनलाइनलाइ जानकारी दिए ।
एमाले जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा पुष्पलाल स्मृति भवन बुटवलमा बसेको बैठकलाई संबोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले मुलुकको सबैभन्दा सशक्त पार्टी एमाले हो भन्ने कुराको पुष्टि वडा र पालिका अधिवेशनले गरेको उनले बताए ।
तोकिएकै समयमा वडा र पालिका स्तरका कमिटीहरुका अधिंकांश ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरी सभ्य र भब्य रुपमा अधिवेशन सम्पन्न गरेर पार्टी एकतावद्ध रहेको प्रमाणित भएको पनि उनले बताए ।
उनले आगामी मुख्य कार्यभारका रुपमा महाधिवेशन सम्पन्न गर्नु र एमालेको आन्तरिक एकतालाई अझ मजबुद भएको प्रमाणित गरेर देखाउनुपर्ने बताए ।
बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज दधिराम न्यौपाने, सहइन्चार्ज एकराज बिश्वकर्मालगायतले पनि बोलेका थिए । बैठकले बेमौसमी वर्षाका कारण रुपन्देहीमा धानवाली नष्ट भई किसानहरु मर्कामा परेकाले त्यसको यथार्थ विवरण संकलन गरी उचित राहत र क्षतिपूर्ति दिन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।
बैठकले प्रदेश कमिटीका सल्लाहकार दुर्गा उपाध्याय, प्रदेश कमिटी सचिव भूमिश्वर ढकालको ममतामयी माता गंगा तुलसा ढकाल, प्रदेश कमिटी सदस्य कुमार थापाको श्रीमती खुमा बुढा र छोरी कृति थापा, जिल्ला निर्वाचन कमिटी सदस्य उमाकान्त बस्यालको बुवा जदुपति बस्याल, प्रदेश कमिटीका सल्लाहकार डोलेन्द्र जिआरको श्रीमती देउकुमारी गहतराजको दुःखद निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)