Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कर्णाली र प्रदेश न १ मा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै,दिउँसो शपथग्रहण

कर्णाली र प्रदेश न १ मा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै,दिउँसो शपथग्रहण

  • 5.7K
    SHARES

  • कर्णाली र प्रदेश न १ मा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै,दिउँसो शपथग्रहण

    बुटवल,कात्तिक १६ ।

    कर्णाली र प्रदेश एकले आज नयाँ मुख्यमन्त्री पाउँदैछन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गर्नुभएको छ ।

    माओवादी केन्द्रका तर्फबाट कर्णालीमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । शाहीको राजीनामापछि कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बन्दैछ ।

    गएको बैशाख २ मा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको सहमतिअनुसार ६ महिनापछि कांग्रेसलाई नेतृत्व दिने सहमति भएको थियो । त्यही सहमतिअनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई  मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी छ ।

    ४० जना सांसद रहेको कर्णाली प्रदेशसभा अहिले ३५ सदस्यीय छ । एमालेका चार सांसद कारबाहीमा परेपछि र माओवादी केन्द्रका एक सांसद एमालेमा गएपछि पद रिक्त छ ।

    प्रदेश सभामा बहुमतका लागि १८ मत चाहिन्छ । माओवादीसँग १२ र कांग्रेससँग ६ सांसद छन् । यी दुई पार्टी मिल्दा बहुमत पुग्छ । कर्णालीमा नेकपा (एकीकृत सामाजवादी)का तीन जना सांसद छन् ।

    यस्तै, प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश १ मा आज दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान भएको थियो ।

    हिजो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

    उहाँलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठनका लागि ४७ सांसदको हस्ताक्षर भए पुग्छ । आज दिउँसो शपथग्रहणको तयारी छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology