बुटवल,कार्तिक ८ ।
भारतको जगन्नाथपुरीस्थित गोबर्द्धन मठका मठाधीश जगद्गुरु शंकराचार्य स्वामी श्रीनिश्चलानन्द रुपन्देहीको भैरहवामा आएका छन् । आइतबार साँझ लुम्बिनी नजिकैको कक्रहवा नाका हुँदै नेपाल प्रवेश गरेका शंकराचार्यले लुम्बिनी भ्रमण समेत गरे ।
शंकराचार्यलाई लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, लुम्विनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयलगायत धर्मगुरुहरुले स्वागत गरेका थिए ।
देशभरका हिन्दुवादीहरु रुपन्देहीमा भेला भएका छन् । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न दवाव दिने उद्देश्यले आयोजना गरिएको धर्मसभालाई उनले सम्बोधन गर्ने छन् । आजदेखि आयोजना हुन लागेको अन्तरर्राष्ट्रियस्तरको धार्मिक महासभामा भाग लिन शंकराचार्य नामले परिचित ८० वर्षीय शंकराचार्य नेपाल आएका हुन् ।
शंकराचार्यसँगै धर्मसभामा सहभागी हुन नेपाल र भारतका सनातन धर्म तथा ओमकार परिवारका गुरुजन तथा विद्वानहरु भैरहवा आइपुगेका छन् ।
धर्मसभा मूल आयोजक समितिका संदस्य ब्यासमूनि आचार्य किशोर गौतमले वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोन लगायत सनातन ओमकार परिवरजनको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षताको पहिचान पुनः स्थापित गर्ने उद्देश्यले धर्म सभा आयोजना गरिएको बताए ।
धर्मसभाको मुख्य उद्देश्य नेपालको स्थायी शान्तिका लागि हिन्दु राष्ट्र नेपाल घोषणा गर्नु रहेको भन्दै गौतमले ॐकार परिवारबीच एकता कायम गरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसस्कृतिको रक्षाका लागि धर्मसभाको आयोजना गरिएको बताए ।
शंकराचार्यको नेपाल भ्रमणबाट नेपालमा हिन्दुराष्ट्र घोषणाका लागि दबाब सुरु हुनुको साथै सनातन धर्मको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको लागि प्रभावकारी हुने धर्म सभा आयाेजक समितिका सदस्य डिल्लीप्रसाद शर्मा आचार्यले नागरिक अनलाइनलाई बताए ।
हिन्दूका चार धामका सर्वश्रेष्ठ शंकराचार्यको रुपमा रहेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसरह सुरक्षा व्यवस्था र सम्मान पाउने एक मात्र भएकोले उनकोे आगमनसँगै भैरहवाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
को हुन् शंकराचार्य ?
गोवद्र्धन मठ–पुरी पीठाधीश्वर श्रीमज्जगद्गुरु पुज्यपाद शंकराचार्य स्वामी निश्चलानन्द ‘शंकराचार्य गुरु परम्परा’का १४५ औं शंकराचार्य हुन् ।
उनी सन् १९९२ देखि जगद्गुरु शंकराचार्य भएका हुन् ।
उनी ज्ञान र विज्ञान दुवै विषयका ज्ञाता पनि हुन् ।
उनका १ सय ६१ कृतिहरु प्रकाशित छन् ।
अक्सफोर्ड र हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले उनीसँग पुरी–उडिसामा पुगेर वैदिक गणित विषयमा ज्ञान हासिल गर्ने गरेका छन् ।
उनी सनातन सिद्धान्तका बारेमा सम्पूर्ण शुद्धतापूर्वक उद्भासित छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)