बुटवल,कार्तिक ४ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ ।
बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन प्रदेशसभासमक्ष प्रस्ताव गरेकी थिइन् ।
तर विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी कन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।
यस्तै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो ।
मुख्यमन्त्रीका लागि कांग्रेस नेता इन्द्र बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा थियो । बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । देउवाले मुख्यमन्त्रीको विषय टुंग्याउन र सम्झौता गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पठाएका थिए ।महतले मुख्यमन्त्रीमा पाण्डे अगाडि बढाउने गठबन्धनभित्र समझदारी बनाएर काठमाडौं फर्केका छन् ।
स्रोतका अनुसार एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पत्रमा गठबन्धनका नेताहरुले हस्ताक्षर गरेका छन् ।गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) ले नया मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)