बुटवल,कार्तिक ३ ।
शंकास्पद मृत्यु भएकी रुपन्देहीको तिलोत्तमाकी सिता भण्डारीको शव ४५ दिनपछि उठाइएको छ । उनको बुधबार मगरघाटमा अन्त्येष्टि गरिएको हो ।
२७ वर्षीय भण्डारी भदौ १९ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरी अनुसन्धान र पोष्टमार्टम रिपोर्टमा उनले आत्महत्या गरेको भनिएपनि माइतीपक्षले भने सीतालाइ घरका श्रीमानसहित परिवारले मारेको आरोप लगाउँदै आएको थियो ।
माइती पक्षले छानविन गरी दोषी माथि कारबाहीको माग गर्दै भदौ २२ गते प्रहरीमा जाहेरी दिएका थिए । उनका श्रीमान टिका पौडेल , बिष्णु पौडेल आमाजु (दिदी) र जेठाजु हरि प्रसाद पौडेल बिरुद्ध आत्महत्या दुरुत्साहनमा पुर्पक्षका लागि थुनामा छन्।
स्रोतका अनुसार मृतक सिता भण्डारीका माईती पक्षले पौडेल परिवारबाट मंगलबार ११ लाखको अक्षयकोष बनाउने सहमति पछि शव बुझेर अन्त्येष्टि गरिएको हाे । यसअघि माइतीपक्षले सीताका घरपक्षसंग बारम्बार मोटो रकममा बार्गेनिङ गरेको स्रोतको दाबि छ । ‘सहमति हुनु अघि शवमाथि २४ लाखसम्मको बार्गेनिङ भयो तर पछि ११ लाखमा सहमति भएर शव बुझ्ने काम भयो।’ -एक प्रहरी अधिकारीले नागरिक अनलाइनसंग भने ।
शवमाथि पैसाको बार्गेनिङ हुनु राम्राे नभएको नागरिक समाजका अगुवाहरु बताउँछन् । सीतालाई न्याय दिलाउँन भन्दै उनको पक्षमा रुपन्देहीमा ४० दिनसम्म लगातार आन्दोलन चर्किएको थियो ।
यी पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)