कौरव खत्री/ बागलुङ,असोज २७ ।
नेपाल टेलिकमले मुस्ताङको ध्येय र टुकुचेमा पहिलो पटक मोवाईल सेवा शुरू गरेको छ ।
टेलिकमले ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप हिमाल पारीको जिल्ला मुस्ताङको टुकुचे र ध्येयमा बिटियस टावर स्थापना सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका वरिष्ठ ईन्जिनियर तथा कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।
मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको ठाउँ भएको हुँदा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सँगै स्थानीयबासीको दैनिक जीवनलाई यसले सहजता प्रदान गर्ने शर्माले बताए । शर्माले भनें“यसभन्दा अगाडी त्यस स्थानमा मोवाईल सेवा थिएन त्यहाँका स्थानियबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो । अब मोवाईल सेवा सञ्चालनमा आएसँगै सहजता भएको छ ।
भौगोलिक विकटता र अनेकौ समस्याका बाबजुत टेलिकमले त्यहाँका जनप्रतिनिधी, स्थानीयको सहकार्यमा सेवा पुराउन सफल भएको शर्माको भनाई छ । निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोर जी मोवाईल सेवा पुराउने गृहकार्यमा छौं ।“विकट भुगोल भए पनि हामी हाम्रो जिम्मेवारीमा दृढ छौँ,” शर्माले भनें ।
सेवा विस्तारसँगै हाल उपलब्ध भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकमले थप गृहकार्य अगाडी बढाईरहेको नेपाल टेलिकम मुस्ताङका प्रमुख सुमन राम श्रेष्ठले जानकारी दिए ।उनले गुणस्तरिय भ्वाईस र तीव्र गतिको इन्टरनेट मोवाईल डाटा प्रयोगकर्तालाई उपलब्ध गराउन टावरहरुमा नयाँ प्रविधि जडान गर्ने काम भइरहेको बताए ।
अहिलेको जमाना प्रविधिको भएकोले यसलाई मध्यनजर गरेर टेलिकम सँगको आवश्यक समन्वयमा यहाँ मोवाईल सेवा पुराईएको मुस्ताङका प्रदेश सांसद चन्द्र मोहन गौचनले बताए । त्यस क्षेत्रमा पहिलो पटक जिएसएम र थ्रिजी मोवाईल सेवा पुगेपछि दुर्गमका ग्राहकले डाटा’र‘भ्वाइस दुवैमा सेवा लिएको सांसद गौचनले उल्लेख गरे ।
गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि वडा, गाउँपालिकाका कामकाज र स्थानियको दैनिकीलाई सजिलो बनाएको लोघेकर दामोदर कुण्ड गाउँपालिका वडा नं ५ का वडा सदस्य पासाङ गुरुङले बताए । समुद्री सतह देखि झण्डै ४ हजार ३ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि जिल्लाको पर्यटकीय एवं धार्मिक स्थल दामोदर कुण्ड सम्म पुग्ने पर्यटकले सेवा प्राप्त गर्ने वडा सदस्य गुरुङले जानकारी दिए ।
कालीगण्डकी करिडोर सँगै त्यहाँका पदमार्गमा यात्रा गर्ने पर्यटक र स्थानीयबासी मोवाईल सेवाबाट लाभान्वित भएका हुने भएका छन ।
मोवाईल सेवालाई नागरिक समक्ष सहजता प्रदान गर्न आफनो सेवा विस्तार,सँगै गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकमले आफ्नो सेवाको विस्तार कार्यलाई तिव्रता दिएको छ ।
मुस्ताङका अधिकांश मोवाईल टावरमा अहिले पनि विद्युत सेवा नहुँदा टेलिकमले सोलार सेट जडान गरि सेवा प्रवाह गरिरहेको छ । अहिले नेपाल विद्युत प्राधिकरणले पनि मुस्ताङ जिल्लाभर विद्युतीकरण कार्यलाई तदारुकताका साथ अगाडी बढाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)